जीवन-मरणको दोसाँधमा ‘सन्तु’

माया पिरती र अध्ययन/रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया १ युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् ।

म्याग्दीको बेनी नगरपालिका-२, गौश्वाराकी सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । २ वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी जमेका कारण सबै सपना भताभुंग भएका छन् । उपचारका लागि लाग्ने खर्चको अभावका कारण मर्ने बाँच्ने टुंगो नभएकी सन्तु अस्पतालको श्ययाबाट आफूलाई बचाउन याचना गरिरहेकी हुन् ।

सन्तुका बुबा सूर्य र आमा जमुना छोरीको उपचारका लागि पैसा नभएपछि आफूहरूलाई नै धिक्कार्दै परोपकारी संघसंस्था र दाताहरूलाई गुहारी रहेका छन् । ४र छोरी र १ छोराको पालनपोषण, शिक्षादिक्षा र छोरी सन्तुको उपचार गर्दा भएको सबै सम्पत्ति रित्याएका सूर्य पोखरेल अब छोरीको उपचारका लागि खर्च गर्न १ पैसा नभएको बताउछन् ।

‘छोरीको थप उपचारका लागि जहाजबाट काठमाडौँ लैजानुपर्ने चिकित्सकले बताएका छन्’, सूर्यले रुन्चे स्वरमा भने । ‘गाडीबाट लैजान सक्ने अवस्था छैन, काठमाडौँ पुर्याउने हो भने बचाउन सकिएला’ सन्तुको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै सूर्यले भने, ‘साथमा रु १ सय पनि छैन, कहाँबाट छोरीलाई जहाजमार्फत काठमाडौँ लैजाऊँ ।’

अहिले सन्तुलाई अस्पतालको सघन उपचारकक्षमा राखिएको र दैनिक रु १० हजार औषधि र अन्य चार्जको रूपमा खर्च हुने गरेको उनले बताए । गाउँमा बचेको अलिकति जग्गा र बास बस्ने घर बैंकमा धितो राखेर आएको पैसाले यतिञ्जेलसम्म छोरीको उपचार गराइएको बताए । उनले सक्दो सहयोग गरेर आफ्नी छोरीको जीवनरक्षा गरिदिन मनकारी व्यक्ति र संघसंस्थासँग आग्रह गरेका छन् ।