५ वर्षमा सबै सुकुम्वासीलाई लालपूर्जा !

गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको ५ वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने बताएकी छन् । उनले भूमिहीन जनताले ५ वर्ष भित्रै लालपुर्जा पाउने गरी सरकारले कार्य गरिरहेको जानकारी दिइन् ।

राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीद्वारा आयोजित एक कार्यक्रममा उनले धेरै आन्दोलन गरेर जनताले खोजेको शासन आएको भन्दै अब जुलुस निकाल्ने, टायर बाल्ने जस्ता कुनै पनि सरकार विरोधी कार्यमा लाग्न नपर्ने स्पष्ट पारिन् ।

उनले पटक–पटक सरकारले राम्रो कार्य गरिरहेको बताउँदै सरकारलाई सकारात्मक सुझावसहित खबरदारी गर्न आग्रह गरिन् । सरकारले आफ्नो अनुकुल समयमा सुकुम्वासीको माग सुनुवाइ गर्ने स्पष्ट पारिन् । तर भूमिहीन सुकुम्वासीहरू पानी जस्तै तरल प्रकृतिको भएको भन्दै उनले आफ्नो हक अधिकारप्रति सबै एकतावद्ध भइ लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्ने खाँचो औंल्याइन् ।

राष्ट्रिय नेपाल भूमिहीन सुकुम्वासी संगठनका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले आफूहरू विकास विरोधी नभएको तर भूमाफियाको चलखेल बढेको भन्दै बसपार्कबाट सुकुम्बासी हटाउने उद्देश्य मात्रै भएको तर व्यवस्थित गर्ने कुनै योजना नै नभएको बताए । उनले प्रदेशसभामा यस विषयमा कुरा हुनुपर्ने खाँचो औंल्याए ।

राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर दर्जी, केन्द्रीय सदस्य आशबहादुर गुरुङ तथा कन्य गुरुङले बोलेका थिए । उनीहरुले पोखरा–९ वसपार्क क्षेत्रमा सुन्दर बसपार्क बनाउने प्रचार गर्दै वर्षौदेखि वसोवास गर्दै आएका ६ सय सुकुम्बासी हटाएको गुनासो । उनीहरूले अब जनताले आवाज उठाउने मात्रै होइन सांसदहरूले कानुन कार्यान्वयन गर्नुपर्ने बेला आएको समेत स्पष्ट पारे ।

नेपाल वार एशोसिएनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापा मगरले भूमि अधिकार सम्बन्धि कानुनले कुनै पनि नागरिकलाई बसेको स्थानबाट अन्यत्र सार्न पाइँदैन । सार्नुपर्ने भएमा सरकारले स्थानीय बासिन्दालाई व्यवस्थापन गरेर, उनिहरूको सहमतिमा मात्रै हटाउन सक्ने वताए ।

कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संगठनका अध्यक्ष हर्कबहादुर विक, वडास्तरीय महिला समन्वय समिति पोखरा–९ की संयोजक दिलमाया गुरुङले सुकुम्वासीका मागहरू जुनसुकै सरकार आए पनि वेवास्ता गरेको गुनासो गरे । सरकारले पटकपटक छानबिन गरेर सुकुम्वासी घोषणा गरे पनि पुनः छानबिन गर्ने भन्ने कुरा न्यायोचित नभएको बताए ।

मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा नगर अध्यक्ष लेखमाया थापा र सचिव कुमारी गुरुङले पनि बोलेका थिए ।