पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि पोखरासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वी क्षेत्रका धेरै र पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र हुरीबतास सहित यतिबेला पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पोखरा आसपासको क्षेत्रबाट विकास भएको पानी पार्ने प्रणाली पूर्वतर्फ सर्दै गएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । पोखरामा बिहान ९ बजेदेखि मेघ गर्जनसहित पानी परेको छ । पोखरामा अधिक वर्षाको सम्भवना रहेको बताइन्छ । जसका कारण बिहानैदेखि पोखरा अन्धकार बनेको छ ।
‘यतिबेला देशका धेरैजसो भूभागमा सानो–ठूलो पानी परिरहेको छ,’ बासीले भनिन्, ‘धादिङनवलपरासी, चितवन, पर्सा लगायतका जिल्लामा भने चट्याङसहित वर्षा भइरहेको छ ।’ विगत १२ घण्टाको अबधिमा काठमाडौँ उपत्यकामा १ मिलिलिटर वर्षा भएको बताइन्छ ।
आज दिनभरी जसो देशका धेरैजसो भूभागमा पानी पर्ने बासीले बताइन् । ‘विशेषगरी मध्य र पूर्वमा केही ठाउँमा मेघगर्जन र हुरी बताससहित पानी पर्छ,’ उनले भनिन्, ‘काठमाडौँ उपत्यकामा आज दिनभरी नै घाम लाग्ने र पानी पर्ने क्रम चलिरहन्छ ।’
आज दिनभरी नै मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको बासीको भनाई छ ।
मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा आज दिउँसोपख चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना समेत छ । हिमाली भेगका केहि स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना समेत छ ।
देशका धेरै जसो भूभागमा मौसम बदली भए पनि प्रदेश २ का जिल्लाहरुमा भने विहानैदेखि घाम लागिरहेको बताइन्छ ।






