भगवान बुद्धका शास्वत सन्देशलाई ज्ञानमाला भजनका माध्यमबाट जनजनमा पुर्याउन जागरण अभियानसहित नेपाल राष्ट्रिय ज्ञानमाला समिति पोखरामा आएको छ।
उक्त समितिको सम्मानमा धर्मशीला बुद्धविहार नदीपुर पोखराले आइतवार समारोहसहित ज्ञानमाला भजन कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा राष्ट्रिय समिति र ज्ञानमाला पोखराले बुद्ध भजन प्रस्तुत गरेका थिए।
समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय समिति अध्यक्ष एवम् कलाकार रमना श्रेष्ठले २०५१ साल चैत्र १८ गते स्थापना भएको ज्ञानमाला समितिको यस वर्ष रजत वर्ष समेत भएकोले विविध कार्यक्रमहरु आयोजना गरिने बताइन्।
उनले विभिन्न क्षेत्रमा निस्कृय रहेको ज्ञानमाला संघलाई सक्रिय बनाउने अभियानसमेत चालिएको जानकारी दिइन्। साथै उनले पोखरापछि लगत्तै समिति बागलुङ र म्याग्दी पुग्ने बताइन्।
स्वागत मन्तव्य राख्दै ज्ञानमाला संघ पोखराका निवर्तमान अध्यक्ष विक्रम उदासले नेवारी भाषामा मात्रै गाइने गरेको ज्ञानमाला भजन पोखराले नेपालीमा पनि गाउने परम्परा शुरु गरेको बताए। साथै उनले गुरुङ, तामाङ आदि भाषामा पनि बुद्ध भजन बनाउनु पनेर्मा जोड दिए।
ज्ञानमाला संघ पोखराका अध्यक्ष श्याम शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष तेजेन्द्र शाक्यले गरेका थिए।




