सरकार-विप्लव समूहबीच वार्ता !

- को को बन्दैछन् मध्यस्थकर्ता ?

यतिबेला नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेकपा’ का केही नेता सत्तारुढ दलका केही नेतासंग नियमित सम्पर्कमा छन् । विप्लव समूहसँग भइरहेको अनौपचारिक कुराकानीका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नियमित ब्रिफिङ भइरहेको छ ।

१ हप्तादेखि विप्लव समूहका नेता–कार्यकर्ता खासै पक्राउ परेका छैनन र पक्राउ परेका पनि छिट्टै छुटेका छन् । फागुन यता दिनहुँ जसो सो समूहका नेता–कार्यकर्ता पक्राउ पर्दै आएका थिए । विप्वल समूह विरुद्धको प्रहरी कारवाही जसरी नजानिँदो पाराले मत्थर भएको देखिँदैछ ।

त्यसो भए के सरकारले विप्लव समूहसँग साँच्चिकै औपचारिक वार्ताको तयारी गरिरहेको हो ? ‘यो बिषयमा त केही जानकारी भएन,’ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले भन्छन्, ‘त्यस्तो केही भइरहेजस्तो त लाग्दैन । घटनाक्रम विकास भए म आफै खबर गरौँला ।’

प्रहरी स्रोतका अनुसार, विप्लव केही दिन अघि सल्यानमा थिए । पार्टीकै अर्का प्रभावशाली नेता अनिल शर्मा ‘बिरही’ सिन्धुली र काभ्रे क्षेत्रमा देखिएका थिए । पार्टीको स्थायी समितिको बैठक समेत चैत्र दोस्रो साताको मध्यतिर प्रदेश–३ कै अज्ञात स्थलमा सम्पन्न भएको सूचना प्रहरीले पाएको छ ।

‘सरकारले वार्ताको तयारी गर्दैछ भन्ने सूचना पाएका छौँ’, १ वरिष्ठ प्रहरी अधिकारीले भने ‘राजनीतिक समस्या र आपराधिक गतिविधि दुबैलाई फरक ब्यवहार हुनुपर्छ ।’ ती प्रहरी अधिकारीका अनुसार माथिल्लो निकायले कुनै निर्देशन दिएको छैन् । प्रहरीले अघि बढाएका मुद्दा प्रक्रियामै छन् ।

स्रोतका अनुसार विप्लव समूहसँग वार्ताका लागि पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माको नेतृत्वमा अर्को समूह समेत सक्रिय छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा उनी वार्तााका लागि परिचालित भएको बताइन्छ ।

जारी रुकुम महोत्सवका क्रममा उनी शनिबारदेखि उतै छन् । उनको साथमा सत्तारुढ नेकपाका नेता मणि थापा र रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा पनि उतै छन् ।
आइतबार बिहानमात्र गृहमन्त्री रामबहादुर थापाले पोखरामा विप्लव समूहलाई वार्तामा ल्याउन पहल भइरहेको बताएका थिए ।

गृहमन्त्री बादलले नै २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्धका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिले प्रष्ट पार्छ, भित्रभित्रै विप्लव समूहसँग वार्ता वा वार्ताको पहल भइरहेको छ ।

स्रोतका अनुसार सोही समूह र सरकारबीच वार्ताका लागि पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन सक्रिय छन् भने महासचिव विप्लवसमेत काठमाडौँमै छन् । वार्ताका लागि सो समूहले प्रहरीले पक्राउ गरेका सबै नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्तालाई प्रारम्भिक शर्त बनाएको जानकारी पनि उनले दिए ।

यद्यपि, महासचिव विप्लव निकट हेमन्त प्रकाश ओलीमाथि सरकारले गम्भीर मुद्दा लगाएकाले वार्ता केही जटिल रहेको सो समूहका नेताहरुको भनाई छ । सो समूहभित्रको विवाद र अन्तरसंघर्षले पनि वार्ताको रोडम्याप निर्माणमा कठिनाई बताइन्छ ।

‘सरकार पछि हट्ने स्थितिमा देखिन्न । हाम्रो पार्टी पनि अहिल्यै सरकारसँग भिडेर अघि बढ्ने मनस्थितिमा छैन,’ स्रमेत भन्छ, ‘पक्राउ परेका नेता–कार्यकर्ताको रिहाई गराएर पार्टी जोगाउनुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार, सरकारले लगाएको प्रतिवन्धले पार्टीलाई प्रचार–युद्धमा महत्वपूर्ण सफलता त मिलेको छ ।

तर सँगसँगै प्रमुख र निष्ठावान कार्यकर्ता पक्राउ परेका छन् । सरकारले फागुन २८ मा प्रतिबन्ध लगाएपछि विप्लवका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित सयौँ नेता कार्यकतालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा पार्टीका पोलिटब्युरो सदस्य तथा जनवर्गीय संगठनका इन्चार्ज मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यहरु बसन्त श्रेष्ठ र बन्धु चन्द छन् । यस्तै ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’ सहित पार्टीको फौजी कारबाही परिचालन तहमा बसेका मुख्य नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।