पारा टेबल टेनिसमा स्ट्याण्डिङमा गुरुङ, ह्वीलचियरमा अधिकारी र बराललाई स्वर्ण

सधैंका लागि विश्व टेबल टेनिस भन्ने नारा दिदैं पोखरामा पनि पारा टेबल टेनिस प्रतियोगिता आयोजना गरियो ।

कास्की जिल्लाका १८ जना पाराका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विभिन्न इभेण्टमा आयोजना गरिएको प्रतिस्पर्धा लिगकम नकाउटमा खेलाइएको थियो । कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा आयोजित प्रतियोगितामा स्ट्याण्डिङ पारा तर्फ अनुप गुरुङले स्वर्ण पदक जिते । विशाल गर्बुजाले रजत पदक र महिला खेलाडी अन्जना गुरुङले कास्य पदक जितिन् । लिगकम भएकै कारण खेलाडीले एकापसमा प्रतिस्पर्धा गर्दै विजयी घोषणा गरिएको थियो ।

ह्वील चियर पुरुष तर्फको प्रतिस्पर्धामा भने भरत अधिकारीले स्वर्ण पदक जिते । सुरशे गौलीले रजत पदक र ध्रुव नेपालीले कास्य पदकमा चित्त बुझाए । महिला तर्फको सोही इभेण्टमा अन्जु बरालले स्वर्ण पदक जित्दा पुनम विकले रजत र लक्ष्मी विश्वकर्माले कास्य पदक जितिन् । विश्व टेबल टेनिस दिवसको अवसरमा केक काटेर दिवस मनाउँदै पारा खेलाडीको लागि प्रतियोगिता आयोजना गरिएको थियो ।

पदक विजेता खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । संघले पारा खेलाडीलाई विगत केही महिनादेखि टेबल टेनिसको प्रशिक्षण दिदै आएको छ । प्रशिक्षणपछि नै खेलाडीहरुलाई टेबल टेनिस दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष जोशीले बताए । संघको आयोजना तथा अन्तराष्ट्रिय टेबल टेनिस महासंघको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

source:kheladinews