कराँतेका खेलाडी प्रशिक्षणमा व्यस्त

यतिबेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चटारो छ । खेलाडीदेखि खेलकर्मीलाई आफनो खेल कहिले हुन्छ भन्नेमा मात्रै ध्याउन्न छ । केही खेलको मिति तलमाथि हुदाँ खेलाडीमात्रै नभई खेल संघ पनि अन्यौलमा परिरहेका छन् ।

केही खेल अघि सरेको छ भने केही खेल तोकिएको मिति भन्दा पछि धकेलिएको छ । फुल कन्ट्याक्ट कराँते बैशाख ६ र ७ गते थियो । तर दोस्रो मिति जारी हुदाँ ३ र ४ गते सरेको छ । कबड्डी पनि बैशाख दोस्रो सातामा थियो । अघि सरेर चैत ३० गते नै हुने तय भएको छ ।

नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि टिम गेमलाई मात्रै बन्द प्रशिक्षणमा राखिने जनाएपछि व्यक्तिगत प्रतिस्पर्धाका खेलहरुका खेलाडी भने आफैं प्रशिक्षणमा व्यस्त छन् । ३ र ४ गते हुने फुल कन्ट्याक्ट कराँतेको लागि खेलाडीहरु यतिबेला पोखरा रंगशालामै प्रशिक्षणमा व्यस्त छन् । खेलाडीलाई डाईटको व्यवस्था पनि कास्की जिल्ला क्योकुशिन बुदोकाई कराँते संघले गर्दै आएको छ । केही सहयोगीको सहयोगबाटै खेलाडीलाई प्रशिक्षणपछिको खाजाको व्यवस्था गरिएको छ ।

‘खेलाडी यतिबेला नियमित प्रशिक्षणमै छन् । गेम तीन दिन अघि सरेको छ । त्यही अनुसार प्रशिक्षण गराइएको छ । खेलाडीको प्रशिक्षणबाट पदकको अपेक्षा गर्न सकिन्छ ।’ फुल कन्ट्याक्ट कराँतेका प्रशिक्षक सुवास खड्काले भने–‘खेलाडीको मनोबल उच्च छ । त्यसले पनि पदक जित्नेमा ढुक्क छौं । थोरैमा पनि ४ वटा स्वर्ण जित्नेमा ढुक्क छौं ।’ फुल कन्ट्याक्ट कराँतेमा महिला तर्फ ४५ केजीमा सरगम कुमाल ५० केजीमा युनिका शेरचन, ५५ केजीमा प्रिज्मा कुँवर र खुल्ला तौलमा सुष्मी श्रेष्ठ रहेकी छिन् । श्रेष्ठ २०७३ सातौं राष्ट्रियप्रतियोगिताको समेत गोल्ड मेडलिष्ट हुन् । पुरुष तर्फ ४५ केजीमा मदन थापामगर, ५० मा रोमन सिञ्जाली, ५५ मा जीवन गुरुङ,६० मा युशन थापामगर, ६५ मा गोविन्द रोका र खुलामा रुपक नेपालीले प्रतिस्पर्धा गर्ने छन् । रुपक सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडी हुन् । उनी त्यतिबेला शसस्त्र प्रहरीबलबाट एरिनामा उत्रिएका थिए ।

सितेरियो कराँतेका छनोट भएका कास्कीका खेलाडीहरु कभर्ड हलमा प्रशिक्षणमा छन् । अन्य जिल्लाका खेलाडी पनि सम्बन्धीत जिल्लामै प्रशिक्षणमा रहेको सितेरियो कराँतेका प्रशिक्षक सुरेन्द्र गुरुङले बताए । ‘पदकको अपेक्षा छ त्यही अनुसार प्रशिक्षण गराईएको छ । साँझ र विहान खेलाडीले दुई समय प्रशिक्षण लिईरहेका छन् ।’ उनले भने–‘नेशनल गेममा ४ वटा स्वर्णको अपेक्षा छ ।’ विभागीय टिमले कन्ट्रयाक्टमा लिएका छन् खेलाडी । कुल २१ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् ।

महिला ४५ मा मनु तामाङ, ५० मा अनिता घले, ५५ आकृति गुरुङ , ६१ अनु गुरुङ, ६८ केजी माथिको तौलमा पुजा पुलामीले प्रतिस्पर्धा गर्ने छिन् । एकल कातामा कृपा गुरुङ र टिम कातामा विमला नेपाली, रोशनी पुन र मसिना राई छन् । यसैगरी पुरुष तर्फ ५० मा अंकित गुरुङ, ५५ मा कपिल रोका, ६० मा नविन रसाईली, ६७ मा राजकुमार रसाईली, ७५ केजीमा सञ्जय महतो ८४ केजी माथिको तौलमा विजन श्रेष्ठ रहेका छन् । एकल कातामा विष्णु नेपाली र टिम कातामा विष्णुसँगै सुजन नेपाली र प्रभात पुनले प्रतिस्पर्धा गर्ने छन् ।

source:kheladinews