नेपाल–भारत भिडन्त आज, कस्ले जित्ला ?

जापानको टोकियोमा २०२० मा आयोजना हुने ओलम्पिक प्रतियोगिताका लागि म्यानमारमा जारी दोस्रो चरणको महिला फुटबल छनोटमा नेपाल शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । ६ महिनाअघि पहिलो चरणमा बराबरी खेलेको नेपाल दोस्रो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

२ साताअघि घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत विरुद्ध हार व्यहोरेको नेपाल बदला लिने लक्ष्यमा मैदान उत्रिँदैछ । खेल मन्डलार थिरी रंगशालामा नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरू हुनेछ ।

समुह ए को पहिलो खेलमा म्यानमार विरुद्ध आक्रमक खेल प्रदर्शन गरेको नेपाल त्यही लयलाई निरन्तरता दिँदै भारतमाथि जित निकाल्ने योजनामा छ । उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल घरेलु टोलीसँग ३–१ ले पराजित भएको थियो ।

प्रशिक्षक हरि खड्काले म्यानमारविरुद्धको लयलाई कायम राख्दै भारतविरुद्ध जितको रणनीतिमा रहेको बताए । प्रशिक्षक खड्काले भने, ‘म्यानमाविरुद्धको खेल तारिफ योग्य हो । त्यही खेललाई निरन्तरता दिए जित निकाल्नेछौं । हाम्रो योजना ३ अंक जोड्ने हो ।’

साफ च्याम्पियनसिपमा भएका कमजोरीलाई बिर्सिदै नेपाल नयाँ इतिहास बनाउने लक्ष्यमा छ । ‘विगतमा के भयो भन्ने भन्दा पनि अब के गर्ने भन्नेमा हामी केन्द्रित छौं । साना कमजोरीले साफमा हार्नुपर्यो अब ओलम्पिकमा पाएको सुन्दर अवसर गुमाउन चाहादैनौं’, प्रशिक्षक खड्काले भने ।

उनकाअनुसार टोलीकी मुख्य सदस्य सावित्रा भण्डारीको खेल रणनीति फरक हुनेछ । ‘साबित्रालाई रोक्ने लक्ष्य भारतको रहन्छ त्यही भएर सावित्रालाई फरक ढंगले मैदान उत्राने योजनामा छु’, प्रशिक्षक खड्काले थपे, ‘साफमा भएका पीडा हटिसकेको छ । खेलाडीले त्यो बिर्सेर नयाँ खुसी दिनेमा आशावादी छु ।’

कप्तान निरु थापाले साफको बदला लिने लक्ष्यमा रहेको बताइन् । विगतमा जे–जस्तो भएपनि अब राम्रो नतिजाका लागि मैदान उत्रिन कप्तान निरुको भनाई छ । ‘हामीले कस्तो खेल्छौं भनेर देखाइसकेका छौं । म्यानमारसँग भएका कमजोरीलाई सुर्धार्दै भारतसँग खेल्नेछौं । जितका लागि आशावादी छु । यो अवसर खेर फाल्ने छैनौं’, कप्तान निरुले भनिन् ।

पछिल्लो समय नेपाल र भारतबीच ३ पटक प्रतिस्पर्धा भएको छ । ६ महिनाअघि ओलम्पिक छनोटको पहिलो चरण, १ महिनाअघि हिरो वुमेन्स गोल्डकप र २ साताअघि साफ च्याम्पियनसिपको फाइनलमा भिडेका २ टोली समग्रमा ६ महिनाको अन्तरालमा चौंथो पटक आमनेसामने हुनेछन् ।
आफूलाई प्रमाणित गर्दै गरेको नेपाल भारतमाथि २ प्रतिस्पर्धामा बाधक बनेको थियो । ओलम्पिक छनोटको पहिलो चरणमा १–१ को बराबरी गरेको नेपाल हिरो वुमन्स गोल्डकपमा पहिलो पटक भारतलाई उसैको मैदानमा हराउन सफल भएको थियो ।

सिनिएर टोलीमा पहिलो पटक २–१ को जित निकालेको नेपाल घरेलु मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिपमा भने ३–१ ले पराजित भयो । चौंथो पटक फाइनलमा पराजित हुनुको पीडासहित म्यानमार पुगेको नेपाल भारतमाथि बदला लिने लक्ष्यमा छ ।

समूह ए मा रहेको नेपालले अन्तिम खेलमा मंगलबार इन्डोनेशियाको सामना गर्नेछ । समुह ए मा म्यानमार ३ अंकसहित पहिलो स्थानमा रहँदा समान अंक भएपनि भारत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इन्डोनेशियामाथि २-० को जित निकालेको थियो । नेपाल तेस्रो स्थानमा रहँदा इन्डानेसिया पुछारमा छ । समूहको शीर्ष स्थानमा रहने टोली तेस्रो चरणका लागि छनोट हुनेछ ।