देशको पश्चिमी भेगबाट मध्य र पूर्वी भेगतिर सरिरहेको वायुका कारण काठमाडौंसहित मुलुकका अधिकांश स्थानको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसले गर्दा काठमाडौंसहित देशका पूर्वी भागमा आज पनि दिनभर मौसम खराब रहने महाशाखाले जनाएको छ ।
मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए अनुसार पोखरा आसपास विकसित भएको प्रणाली हाल काठमाडौँ नजिक आएका कारण नै मौसम खराब भएको हो । उनका अनुसार यो क्रम आज दिनभर काठमाडौं र देशको पूर्वी भागमा जारी रहनेछ । यो प्रणाली पूर्व तिर सर्दै जाने उनको भनाइ छ ।
पूर्वानुमान महाशाखाका अनुसार देशभरका धेरैजसो भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । तराईका सिमाना र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको बताइएको छ ।
रातिपनि देशका विभिन्न भागमा वर्षा हुनुका साथै तराई क्षेत्रमा सामान्य हावाहुरीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार देशको अधिकांश भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जनका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
शनिबार बिहानको समयमा तराईका सिमानामा हल्का हावा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर आइतबार बारामा आएको जस्तो सम्भावना भने नदेखिएको महाशाखाको अनुमान छ । उच्च हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।






