कांग्रेस सभापति शेरबहादुर देउवा फेरि पोखरा आउँदै

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः पोखरा आउने भएका छन् । क्षेत्री समाज नेपालको यही चैत २३ र २४ गते पोखरामा हुने केन्द्रीय महाधिवेशन उद्घाटन गर्न देउवा पोखरा आउने भएका हुन् । कांग्रेस सभापति देउवासंगै नेकपा नेता भीम रावल, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र पूर्वप्रधान सेनापति रुक्माङ्गत कटवाल समेत पोखरा आउँदैछन् ।

राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षेत्री एकता आजको आवश्यकतालाई आत्मसाथ गर्दै क्षेत्री समाज नेपालको तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताइन्छ ।
समाजले बुधबार पत्रकार सम्मेलनमार्फत तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले जनसंख्यासँगै शक्तिमा पनि ठूलो रहेको क्षेत्री समुदायलाई प्रायः सेवा सुविधा जस्ता विषयमा बञ्चित गर्ने कोशिस राज्यबाट भएको आरोप लगाए । राज्यबाट प्रत्येक जाति सम्प्रदायलाई समान हक अधिकार, सुविधा एवं व्यवहार गरिनुपर्नेमा जोड दिंदै उनले आफ्नो हक अधिकारका लागि आन्दोलनमा उत्रिनुपरेको स्पष्ट पारे ।

कार्यक्रममा दिलबहादुर थापाले गाउँ, नगर, क्षेत्र, जिल्ला एवं प्रदेशका ६० भन्दा बढी जिल्लाका प्रतिनिधिको सहभागिता रहने बताए । क्षेत्री समाज नेपालले विगतका वर्षमा गर्दै आएका माग र मुद्दा पूरा गर्न एकजुट भएर लागिपर्नु अपरिहार्यता अनुसार थप प्रभावकारी दवावमूलक कार्यक्रम गरिने समाजका महासचिव रोमबहादुर कार्कीले बताए ।

यस्तै राज्यको विभिन्न तहमा समान पहुँचका लागि जातीय जनसंख्याको प्रतिशतका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित कायम गराउन माग गर्दै आरक्षण जातीय रुपबाट भन्दा विपन्न वर्गलाई उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।
क्षेत्री महिला समाज नेपालकी केन्द्रीय महासचिव विमला भण्डारीले राष्ट्रिय अखण्डता, धार्मिक सहिष्णुता, जातीय सद्भाव र समन्वयको मर्मको रक्षा गर्न सम्पूर्ण जातजाति एकजुट हुन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले पोखरामा हुन लागिरहेको ४ वर्षका लागि नयाँ कार्यसमिति चयनमा विगतका वर्षमा जस्तै कस्केली सरोसकारवालाबाट विशेष सहयोगको अपेक्षा राखिएको बताए । महाधिवेशन सफल पार्नका लागि केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाको संयोजकत्वमा १५ वटा विभिन्न समिति एवं उपसमिति गठन गरिएको छ ।