
मानिसको क्षमता जति भए पनि सामाजिक कार्य गर्नलाई उसलाई संघ-संस्थाको आवश्यकता हुन्छ, एक्लो प्रयासले ठूलो उपलब्धि हासिल हुँदैन । एक थुकी सुकी, धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने भएकाले संघसंस्थाको आवश्यकता हुन्छ । समाजले त्यस्तो व्यक्तिलाई सम्झिराख्छ जसले समाजका लागि प्रभावकारी कल्याणकारी र गौरवशाली काम गर्दछ । यस्ता भावनाबाट प्रभावित भए पनि कसरी क्रियाशील रचनात्मक र सकारात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ ।
लायन्सको इतिहास
लायन्स के हो ? लायन्सको सदस्यले के–के गर्नुपर्छ ? भनेर बुझ्न लायनवाद जान्न जरुरी हुन्छ । जसरी विश्वयुद्धताका (१९१४ को जुलाईदेखि १९१८ नोभेम्बर ११ सम्म) युद्धले मानिसहरू आक्रान्त भएका वेला समाजमा मानवताको भाव जगाउँदै सहयोग र सद्भावबाट एक–अर्कालाई निःस्वार्थ सेवा गर्नु आवश्यक ठानी अमेरिकाका मेल्भिन जोन्सले सन् १९१७ जुन ७ मा अन्तर्राष्ट्रिय लायन्सलाई जन्म दिनुभयो । विभिन्न चरणमा छलफल, विमर्श गर्दै लामो छलफल पश्चात् अन्तर्राष्ट्रिय लायन्स स्थापना भएको हो । यसरी संगठनलाई अघि बढाउनका लागि साहस, नेतृत्व क्षमता, निष्ठा र दूरदृष्टिको आवश्यक पर्दछ ।

यद्यपि प्रथम विश्वयुद्धले निम्त्याएको विषम परिस्थितिमा जन्मिएको लायन्स क्लबले आफूलाई परिपक्व र जिम्मेवार वनाउँदै संसारमा आइपरेका विपत्तहरूमा प्रत्यक्ष मल्हमपट्टी लगाउन सफल भइरहेको छ । यो संसारमा बसोवास गर्ने मानिसहरूमा मित्रवत तवरले एकआपसमा भाइचराको भाव जगाउँदै पृथ्वीको जुनसुकै कुनामा बस्ने मानिस होस्, सबैको भावना र मूल्य मान्यता १ समान हुन्छ र एउटालाई परेको पीडामा अर्काेले मदत गर्नुपर्छ भन्ने भावनाको विकास गराउँदै अब युद्ध होइन, विभाजन होइन, शान्ति र एकता चाहिन्छ भन्ने भावनाले विकसित भएर अन्तर्राष्ट्रिय संस्थाको आवश्यक महसुस गरी संयुक्त राष्ट्रसंघको सन् १९४५ मा स्थापना गर्न पहल पनि गरेको हो । यसरी विभिन्न संघ-संस्थाको स्थापना गर्न पहल गर्दै आइरहेको छ । यसरी विशुद्ध मानव सेवा गर्न ‘हामी सेवा गर्छाै’ We serve, Leadership, Fellowship भन्ने मूल मन्त्रका साथ आजसम्म अघि बढ्दै आएको छ ।
अहिलेसम्म आउँदा अन्तर्राष्ट्रिय लायन्स क्लबले १ शताब्दी यात्रा पार गरिसकेको छ । संसारकै ठूलो र पुरानो सामाजिक संस्था भए पनि यो संस्था सञ्चालन गर्ने आफ्नै पुराना मौलिक परम्परा विद्यमान छन् । प्रशासनिक खर्च न्यून भएको र कुनै पनि सभासमारोह आयोजना गर्दा सुरुमा आआफ्नो देशको राष्ट्रगान गाउनुका साथै विश्व शान्ति र सुखमय मानव जीवनको कामना गर्दै एक मिनेट मौन प्रार्थनाबाट कुनै पनि कार्यक्रम शुभारम्भ गरिन्छ ।
यसरी यस संस्थाको वैभव र गरिमालाई आकलन गर्न सकिन्छ । मूलतः शिक्षा, स्वास्थ्य, पर्यावरण तथा समग्र मानव कल्याणमा समर्पित यस संस्थाले नेपालमा विशेषगरी अन्धोपन निवारणलगायत लोक कल्याणकारी क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएको छ । हाल पढाऊ अभियान पनि शुरु गरिसकेको छ ।
कुनै पनि धर्म, सम्प्रदाय, जात, लिंग र राजनीतिभन्दा माथि उठेर मानवीय भावले समाजसेवा गर्ने यो संस्थाले केही सार्वभौम सिद्धान्त अंगीकार गरेको छ । कुनै पनि व्यक्तिको मानवअधिकारलाई उच्च सम्मान गर्दै सामाजिक विकास र परिवर्तनका लागि एवं अग्रगमन पक्षमा यस संस्थाले वकालत गर्दछ । यसमा पुरुष तथा महिला छुट्टाछुट्टै वा संयुक्त रूपमा पनि संगठित हुन सक्छन् । योजनाबद्ध कार्यशैली नेतृत्व विकास र अवसर कामको पुनरावलोकन तथा कामभन्दा अगाडिको तथ्य गत अध्ययनअनुसार र टिमवर्क यस संस्थाका सबैभन्दा सुन्दर पक्ष हुन् । अमेरिकामा स्थापित भएको संस्था भए पनि यसको क्षेत्र संसारभरि फैलिएको छ ।
कुनै पनि दैवी विपत्ति भूकम्प, सुनामी आदि होस् वा रोगको संक्रमण होस् Where there is need There is lions भन्ने नाराका साथ आवश्यकतामा लायन्स क्लबले सहयोग जुटाउन मदत गर्दछ । आफ्नो १ सय वर्षको इतिहासमा लायन्स अनगिन्ती सेवाका कार्यक्रमहरू, महत्वपूर्ण घटनाहरू रच्दै निरन्तर मानवमात्रको सेवाका लगि अघि बढिरहेको छ । यसरी विश्वभर फैलनेक्रममा पहिलो अन्तर्राष्ट्रिय सदस्य क्यानाडा हुँदै संसारभर द्रूत गतिमा लायन्स क्लबले सदस्य बनाउँदै जाँदा मानवीय विपत्मा अल्पकालीन, दीर्घकालीन सेवा पुर्याउँदै आएको लायन्स भारत हुँदै नेपालले पनि अन्तर्राष्ट्रिय सदस्य बन्ने मौका पायो ।
नेपालमा लायन्स
पूर्व कोसीमा ठूलो बाढी आउँदा भारतका लायन्सहरूले ठूलो सहयोग प्रदर्शन गरे । उनीहरूको विशुद्ध मानवीय भावनाबाट प्रभावित भएर सेवा गरेको देखेर तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला प्रभावित हुनुभयो । यही पृष्ठभूमिमा नेपालमा पनि लायन्सको सन् १९७१ अगस्ट ९ मा स्थापना भयो । यस क्लबमा नेतृत्व लिनेहरूले आफूलाई प्राज्ञिक एवं बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गराएका छन् । साथै, प्रतिष्ठित उद्योगपति, व्यवसायीका रूपमा आफूलाई समाजमा स्थापित गराउन सफल भएका छन् । १ सय पार गरिसकेको लायन्स वर्तमान अवस्थामा आइपुग्दा नेपालमा लायन्सको व्यापक विस्तार भएको छ । यसका सदस्यहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित भएकाले पनि लायन्सको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।
लायन्समा विशेश्वर आचार्य
विशेश्वर आचार्य त्याग र निष्ठामा प्रतिमूर्ति हुनुहुन्छ । उहाँले आफ्नो करिब आधा जीवन लायन्समार्फत समाज सेवामा समर्पित गर्नुभएको कहीं कतै लुकेको, छिपेको छैन । उहाँ सफल वौद्धिक, सामाजिक एवं शिक्षासेवी समेत हुनुहुन्छ । ४२ बर्षअघि अर्थात २०३३ सालमा पिता शिवप्रसाद तथा माता नन्दकली आचार्यको कोखबाट कास्की जिल्ला निर्मलपोखरी-१, बाघमारामा जन्मिनुभएका विशेश्वर आचार्यले एम.बी.बी.ए. सम्मको अध्ययन गर्नुभएको छ ।

गण्डकी प्रदेशकै प्रतिष्ठित नोभेल एकेडेमीका संस्थापक अध्यक्ष रहनुभएका आचार्य वैदिक भिलेज रिसोर्ट र नोभेल इन्स्टिच्यूटका संस्थापक हुनुहुन्छ । अजोड इन्सुरेन्स, सुपर मोदी, रुदीखोला हाइड्रो पावरमा समेत उहाँ संलग्न हुनुहुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपालमा उद्यमशिलताको विकास र प्रवद्र्धन गर्न नोभेल–युनुस सेन्टरको अध्यक्ष, नोभेल फाउन्डेसनको उपाध्यक्ष र पोखरा जेसीसको अध्यक्ष समेत भैसक्नुभएको छ ।
आफ्नो २२ वर्षको उमेर अर्थात १९९८ जुलाई ३१ देखि लायन्समा प्रवेश गर्नुभएका नेता आचार्य मेल्भिक जोन फेलो (MJF) डोनर, नेपाल लायन्स फाउण्डेशन (NLF) को प्लाटिनम लिड डोनर र त्रिभुवन विश्वविद्यालय (TU) लायन्स ब्लड बैंकका संस्थापक सदस्य हुनुहुन्छ ।
आचार्य पोखराकै छैटौं क्लवकोरुपमा स्थापित लायन्स क्लब अफ पोखरा सेन्ट्रलको सदस्यको रुपमा लायन्समा प्रवेश गर्नुभएको थियो । उहाँ क्लबको सदस्य, सहसचिव, पिआरओ, तृतीय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष हुँदै लायन वर्ष २००६/२००७ को क्लब अध्यक्ष बन्नेर आफ्नो लायन्स यात्रा र क्लबलाई सक्रिय रुपमा अघि बढाउनुभयो ।
त्यसपछि उहाँले डिष्ट्रिक्टमा प्रवेश पाउनुभयो । उहाँ डिष्ट्रिक्टको जोन, रिजन चेयर पर्सन, कमिटी चियर पर्सन, चिफ एम्बेस्डर अफ गभर्नर, कोचिफ एडभाइजर हुँदै लायन वर्ष २०१५/१६ को डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरीको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसक्नुभएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गर्ने रिजनल लायन्स लिडरसीप इन्स्टिच्यूट (RLLI-2017) सिनियर लायन्स लिडरशिप इन्स्टिच्यूट SLLI-2009 /Faculty Development Institute (FDI) बाट समेत दीक्षित हुनुहुन्छ । साथै विभिन्न गभर्नरहरूबाट तथा लायन्सका अन्तर्राष्ट्रिय अध्यक्ष (International President) बाट Presidential Medal / Leadership मेडलद्धारा विभूषित हुनुभएका आचार्यले विभिन्न २० मुलुकको भ्रमण गरिसक्नुभएको छ ।
नेतृत्व विकासको क्षेत्रमा दिइने Success मन्त्रका विज्ञका हैसियतले १ सय ५० भन्दा बढी क्लबलाई प्रशिक्षण प्रदान गर्नुका साथै डिष्ट्रिक्टको आयोजनामा हुने स्कुलिङ तथा अभिमुखीकरण तालिममा प्रत्येक वर्ष स्रोत व्यक्तिको रुपमा उहाँले साक्षात्कार गरिरहनुभएको छ ।
यस बाहेक विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वर्कसप, सेमिनारमा लिड टेनर, किनोट स्पीकरको रुपमा सहभागी भई रहनुभएको छ । उहाँले हालसम्म स्वदेश तथा विदेशमा समेत गरेर १० हजार भन्दा बढीलाई सफल तथा असल नागरिक हुनका लागि अभिप्रेरित गर्दै प्रशिक्षण दिइसक्नुभएको छ ।

३५ वटा भन्दा बढी लायन्स क्लबको एक्स्टेन्सन चेयरपर्सन, अर्गनाइजर तथा सर्टिफाइड गाइडिङ लायन हुनभएका आचार्यको LCIF बाट नेपालमा प्रोजेक्ट ल्याउनका लागि अतुलनीय योगदान छ । यस्तै लायन वर्ष २०१५/२०१६ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्टयान्डर्ड ग्रान्ट अन्तर्गत मुटुरोग उपचार केन्द्र स्थापनका लागि १ लाख डलर प्राप्त गर्ने सन्दर्भमा होस् वा लायन वर्ष २०१६/२०१७ मा लेखनाथ लायन्स अस्पतालमा १ करोड ५० लाखको लागतमा मातृशिशु कक्षा स्थापना गर्न प्रोजेक्ट चियरपर्सनको रुपमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । धादिङ्ग जिल्ला अस्पतालमा मातृशिशु कक्ष निर्माणका लागि प्रोजेक्ट प्रपोजल समन्वय गर्नमा समेत उहाँको विशेष भूमिका छ ।
लायन्स नेता आचार्यले लायनवादमा आफ्नो कर्मद्वारा आफ्नो परिचय निर्माणको यात्रा पारगरिसक्नु भएको छ । आगामी वैशाख १३ र १४ गते लायन्स क्लब्स इन्टरनेशनल ३२५ बी १ नेपालको सातौं राष्टिय महाधिवेशन पोखरामा हुँदैछ । यो निर्वाचनमा उहाँले सेकेण्ड भाइस डिष्ट्रिक्ट भगर्नर पदमा उम्मेदवारी दिएर लायन्स क्लब र लायनहरूसंग भेटघाट, छलफल र सुझाव संकलन गरिरहनुभएको छ । लायन्समा उहाँको उम्मेदवारी, घोषणापत्र र प्रतिवद्धताले लायनहरू उत्साहित बन्नुभएको छ भने लायन्सको माहौल रनक्क तातेको छ भने उहाँ समेत उत्साहित हुनुहुन्छ ।
लायनहरूको माया, सदभाव र सहभागिताले उहाँ विजयको सन्निकट हुनुहुन्छ । उहाँको गभर्नरको प्रवेशद्धार खुल्दैछ । उहाँको जितपछि नेपालमा विकास भएको लाईनिज्मले नयाँ उचाइ कायम गर्नेछ । लाईनिज्मको वास्तविक नेताको रुपमा इतिहासले सधैँ सम्झिरहने गरी सेवा भावमा उहाँ लागिरहनुहुनेछ । लायन्स नेता आचार्यको सुस्वास्थ्य, दीर्घायू, पारिवारिक एवं व्यवसायिक र सामाजिक जीवनको सफलताको शुभकामना ।
(लेखक सुवेदी लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पूर्व अध्यक्ष हुनुहुन्छ ।)




