कास्की जिल्ला मुवाथाई किक बक्सिङ संघले एस ई ई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै एक महिने निशुल्क मुवाथाई प्रशिक्षण गराउने जनाएको छ । भर्खरै मात्रै ओलम्पिक कमिटिले समेत मान्यता प्रदान गरेको मुवाथाई खेलको विकास र विस्तार गर्ने उद्देश्यले विद्यार्थीलाई प्रतिरक्षा तालिम दिईने संघका प्रशिक्षक दिपकबहादुर गोदारले सुनाए ।
संघले विशेष गरी विद्यार्थीलाई सेल्फ डिफेन्सको तालिम प्रदान गर्ने जनाएको छ । व्यावसायिक तालिम लिने युवा पुस्तालाई समेत पोखरा रंगशालामा मुवाथाईको प्रशिक्षण गराउँदै आएको उनको भनाई थियो । ‘मुवाथाई खेल सम्बन्धी जानकारी दिई मार्शल आर्टका खेलाडी उत्पादन गर्ने ध्येय हो । विद्यार्थीलाई सेल्फ डिफेन्स सिकाउँदै खेलाडी उत्पादन गर्ने लक्ष्य हो ।’ प्रशिक्षक गोदारले भने–‘एकसय जनालाई विहान र साँझ प्रशिक्षण गराउने छौं । इच्छुक युवा पुस्ताले फाराम भरेर प्रशिक्षण लिन सक्ने छन् ।’ प्रशिक्षणको लागि ६ जना भन्दा बढी प्रशिक्षकहरुले प्रशिक्षण दिने छन् ।
पोखरामा मुवाथाईको खेल २०६२ सालमा भित्रिएको हो । थाईल्याण्डको बैंककबाट प्रशिक्षकको तालिम लिई पोखरा फर्किएका गोदारले पोखरामा मुवाथाईको प्रशिक्षण शुरु गरेका हुन् । क्योकुशिन कराँतेका राष्ट्रिय खेलाडी समेत रहेको गोदारले पोखरा रंगशालामा झण्डै १३ वर्षदेखि मुवाथाई प्रशिक्षण गराईरहेका छन् । उनकै प्रशिक्षणबाट पोखरेली खेलाडी कुमार थापाले दक्षिण कोरियामा आयोजित प्रतियोगितामा रजत पदक जितेका थिए । केही महिना अघि मात्रै मकाउमा आयोजित मुवाथाई च्याम्पियनसिपमा तुलसी थापाले कास्य पदक जितेकी थिईन् । पोखराका खेलाडी कमल खत्री रिङमा उत्रिएका थिए ।
प्रशिक्षणको लागि पर्याप्त सामाग्री समेत रहेको संघले जनाएको छ । एक महिनाको निशुल्क प्रशिक्षणपछि खेलाडीहरुले नियमित प्रशिक्षणको लागि भर्ना हुनुपर्ने छ । उत्कृष्ठ प्रशिक्षार्थीलाई संघले नै निशुल्क प्रशिक्षण गराउने बताएको छ । विगतमा जस्तो पुर्वाधार नहुदाँको समस्या र खेल सामाग्रीको अभावमा प्रशिक्षण गर्नुपर्ने बाध्यता अहिले भने नहरेको प्रशिक्षक गोदारले बताए ।
source:kheladinews




