पोखराको प्रभाव बारामा ! कसरी ?

दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरूलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरूको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो ।

खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह्यो नत अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ ।

विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आइतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ ।

‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६ सय बढी विभिन्न अस्पतालमा उपचाररत छन् । एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सको अभाव देखिएको प्रदेश नं २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ ।

यसैबीच मौसमविद् सुजन सुवेदीले आकस्मिक रुपमा देखा परेको आँधीको छुट्टै अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनले भने, ‘प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापीय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा थप नयाँ बादल विकास भयो र त्यो बादल दक्षिण पूर्वतर्फ बहँदा बारा र पर्सालाई मुख्य प्रभावमा पार्यो र ठूलो मात्रामा क्षति पुर्यायो ।’

नेपालमा हावाहुरीका बारेमा खासै पूर्वानुमान नहुने भन्दै उनले वर्षा, हिमपात, मेघ गर्जन, बादल, तापक्रमको मात्रै पूर्वानुमान हुने गरेको बताए ।