प्रदेशसभाको तलब भत्तासहित साढे १० लाख सामाजिक कार्यमा

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सांसदको हैसियतले पाएका सबै तलव सामाजिक कार्यमा खर्चिएका छन् । चुनावको बेला उनले राज्यबाट पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही प्रतिवद्धता अनुरुप सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको उनले जानकारी दिए । यसका साथै आफ्नो पहलमा संघ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश गरिएको उनले बताए ।

उनले १ वर्षमा प्रदेशसभाबाट प्राप्त तलब ७ लाख ९ हजार १ सय ३५ रुपैयाँमा व्यक्तिगत ३ लाख ४५ हजार ५ सय २० रुपैयाँ थप गरी कुल १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेका हुन् ।

सांसद थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार विभिन्न २२ सामाजिक संस्थामार्फत उक्त रकम खर्च गरिएको हो । उनले सबै भन्दा धेरै अर्मलाकोट, जुम्लेटी, मैदान कुर आमा समूहका लागि सबै भन्दा धेरै १ लाख २० हजार रुपैयाँ सहयोग गरेका छन् । सांसद थापाले उक्त समूहको कुर्ची तथा टेवलका लागि उक्त सहयोग गरेको उल्लेख गरे ।

यसैगरी पोखरा–१६ को जुम्लेटीमा अस्थायी पुल निर्माणमा १ लाख १० हजार, लक्ष्मी नारायण आमा समूहको ट्रष्ट निर्माणमा १ लाख, पुम्दीभुम्दीको विशाल शिवमूति स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । सांसद थापाले अर्मलाकोट बाजा समूहको नौमती बाजा किन्न ८५ हजार, परोपकार धार्मिक संस्थामा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष निर्माण, जनप्रिय माविमा ५१ हजारको अक्षयकोष स्थापना, चाउथेको शिव मन्दिर निर्माणमा ५१ हजार रुपैयाँ खर्च गरेका छन् ।

यसैगरी पोखरा–१६ को किही अर्मलामा खानेपानी ट्यांकी निर्माण, अर्मलाकोटकै विद्यालयमा न्यानो कपडा, जुम्लेटी शक्ति आमा समूहको सिलाई मेशिन किन्न, बगर भाइखलकको खेलकुद सामग्रीका लागि ५०/५० हजार रुपैयाँ सहयोग गरिएको सांसद थापाले जानकारी दिए । साथै सरोज स्मृति प्रतिष्ठान, देवघाट धाम, शिव मन्दिर आँटी घर लगायत अन्य १० संस्थामा सांसद थापाले ५ हजारदेखि २५ हजार रुपैयाँसम्म सहयोग गरेको उल्लेख गरेका छन् ।

यस्ता छन् विकास निर्माण योजना
सांसद थापाले पत्रकार सम्मेलनमार्फत कास्की २ (ख) मा भएका विकास निर्माणका योजना समेत सार्वजनिक गरे । उनले नारायणस्थन–कुरागाउँ हुँदै आँटीघर जोड्ने ९.६६ किमि सडक र हरिहर गुफादेखि जोगिमणि सडक नमुना सडकमा छनोट भएको बताए । उनले नारायणस्थन–कुरागाउँ हुँदै आँटीघर सडकको डिपिआर तयार भैसकेकोले टेण्डरको प्रक्रियामा रहेको स्पष्ट पारे ।

यस सडकका लागि २ करोड १० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । यो सडक निर्माण पश्चात हरिहर गुफादेखि जोगिमणि सडकको काम अघि बढ्ने उनले जानकारी दिए ।
यसैगरी पोखरा १६ को जुम्लेटी जोगिमणि क्षेत्रमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन हुन लागेको सांसद थापाले जानकारी दिए । उनका अनुसार यसका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

वडागत तहमा छनौट भएका आयोजना र बजेट
सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सरकारबाट पोखरा ४ को बुढानीलकण्ठ मन्दिर आडको सडक निर्माणमा ४० लाख, पोखरा ८ को जनप्रिय बहुमुखी क्याम्पसमा प्रयोशाला विकासमा ११ लाख, पोखरा ९ को सुकुम्वासी टोलको खानेपानीका लागि ४० लाख, शिवटोल बहुउद्देश्यीय सामाजिक भवन तथा पार्कका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भइ काम अघि बढिरहेको जानकारी दिए ।

यसैगरी प्रदेशकै बजेट अन्तर्गत पोखरा ११ को काहुँ खानेपानीका लागि २५ लाख, तुलसीमार्गको कीरिया भवन निर्माणमा १० लाख, पोखरा १६ को अमरदीप बहुउद्देश्यीय भवन निर्माणमा ३५ लाख, जाल्पादेवी सामुदायिक भवन–लामाचौर चोक सडकका लागि ५० लाख लामाचौर–ढिकीडाँडा सडकका लागि ५० लाख, गर्लाङ र अर्मलाकोट होमस्टेका लागि १० लाख बजेट विनियोजन भइ काम अघि बढेको सांसद थापाले जानकारी दिए ।

यसैगरी काहुँखोला पुल–आँटीघर सडकका लागि ५० लाख, जनताको चोक–आँटीघर सडकका लागि ५० लाख, भलाम–सिक्लेस सडकका लागि ५० लाख, भलामखोला पुलका लागि ७५ लाख, भलामफाँट सिंचाइ आयोजनाका लागि ४० लाख, घारी–पिपलडाली–वडा कार्यालयसम्मको सडकका लागि ३५ लाख, मौजा र आँटीघर होमस्टेका लागि ३० लाख बजेट प्रदेशबाट विनियोजन भइ काम धमाधम भइरहेको सांसद थापाले उल्लेख गरे ।

प्रदेश सरकारप्रति वितृष्णा
प्रदेशसभा सदस्य थापाले प्रदेश सरकारको कामले जनताको सतही अपेक्षा पूरा गर्न नसक्दा व्यवस्थाभित्र वितृष्णा बढ्दै गएको आफूलाई महसूस भएको बताएका छन् । नयाँ व्यवस्था तथा मुलुककै लागि नौलो प्रयोग भएकाले पनि केही अलमल स्वभाविक भए पनि कर आतंक, विकास निर्माणमा सुस्तता, जनप्रतिनिधिले लिएको दोहोरो स्वा सुविधाको विषयमा जनताको आक्रोश बढेको उनले स्पष्ट पारे । उनले थपे, ‘सिंहदरबार गाउँघरमा भित्र्याउन आतुर जनता सुशासनको अभाव, बढ्दो भ्रष्टाचारका कारण व्यवस्थाप्रति नै निराश भइ संघीयता विरुद्ध आवाज उठाउन थालिसकेका छन् ।’

बेलाबखत संसद बैठकमा नै सांसदहरूले संघीयतालाई बोझको रुपमा लिएको उनीहरूको अभिव्यक्तिबाट बुझ्न सकिने भन्दै सांसद थापाले संघ सरकारले प्रदेशलाई हेर्ने संकीर्ण र सशंकित मनोभाव तथा केन्द्रिकृत मानसिकताका कारण संघीयता कमजोर भइरहेको स्पष्ट पारे । ‘पात्र फेरिनु र व्यवस्था फेरिनु धेरै फरक विषय हो । त्यसैले अहिले नै व्यवस्था परिवर्तन भन्दा प्रक्रिया र पात्र फेर्नु मनासिव हुन्छ’, सांसद थापाको सुझाव छ । उनले कसैले गलग गरे अर्कोलाई पठाउने र प्रक्रिया चुस्त बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

‘निष्ठापूर्वक काम गरें’
सांसद थापाले राजधानी तथा नामाकरण समितिको संयोजक भएर प्रदेशलाई गण्डकी नामाकरण गर्न महत्वपूर्ण भूमिका निभाएको बताए । ‘अरु प्रदेशले नाम र राजधानी तोक्न नसकेको अवस्थामा हामीले यो काम १ वर्षअघि नै फत्तै गरेका छौँ’, उनले भने, ‘मैले आफू संलग्न ३वटा समिति र २ वटा उपसमितिमा रहँदा निष्ठापूर्वक काम गरेको छु ।’ उनले नामाकरणको लागि आफूले बिभिन्न जिल्ला र क्षेत्रमा पुगेर सुझाव संकलन गरेको स्पष्ट पारे ।

आफूले राजनीतिक पूर्वाग्रह नराखी सर्वदलीय बैठकबाट योजना छनौट गरेको पनि उनले दावी गरे । निर्वाचन क्षेत्रमा कूल २२ वटा योजना कार्यान्वनको चरणमा रहेको समेत जानकारी दिए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रविना आले र सञ्चालन सचिव प्रदीप पौडेलले गरेका थिए ।