कालिगण्डकी करिडोरको ३ खण्डमा ब्लास्टिङ

- जोमसोम-कागबेनी सडक कालोपत्रे

कालिगण्डकी करिडोरको अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कोरला खण्डको समर–भेना सडक लगायत म्याग्दीका २ खण्डमा ब्लास्टिङ गरी सडक टर्याक खोल्न आवश्यक देखिएको छ ।

जोमसोम–कोरला सडकखण्डको ७ वटै प्याकेजमध्ये समर–भेना सडकखण्डमा कामको प्रगति ३० प्रतिशत मात्र भएको छ । यसमध्ये एपेक्स जेभीले निर्माणको जिम्मा लिएको छोसेर–कोरला १८ किमी प्याकेज गत मंसिर महिनामै करिडोरलाई हस्तान्तर भएको जनाईएको छ ।

यसअन्तर्गका बाँकी ५–प्याकेजको काम मंसिर सम्म ८० प्रतिशत सम्पन्न भएको करिडोरले जनाएको छ ।
उक्त सडकखण्डको समर–भेना सडकखण्ड ठेकेदारको ढिलासुस्ती काम अघि बढ्न सकेको छैन । यहाँ अप्ठ्यारो र चट्टान कटिङ गर्न आवश्यक भएकाले निर्माण कम्पनी चाँसो नदेखाएको स्थानीयको बुझाई छ ।

करिडोरका आयोजना प्रमुख मुकुन्द अधिकारीले निर्माण कम्पनीलाई यथाशीघ्र काममा फर्कन अल्टिमेटम दिएकाले बैशाखको पहिलो सातामै समर–भेना सडक विस्तारको काम अघि बढ्ने दावी गरे । जोमसोम कोरलाको तेस्रो खण्ड मानिएको उक्त १८ किमी प्याकेज अन्तर्गत घ्याकर,समरको भीर र झो खोलामा बिस्पोटक पदार्थ प्रयोग गरेर सडक बिस्तार गर्ने तैयारी भैरहेको आयोजना प्रमुख अधिकारीको भनाई छ ।

उनका अनुसार गृह मन्त्रालयबाट बिस्पोटक पदार्थ प्रयोग गर्न पाउने स्वीकृति प्राप्त भैईसकेको र जोमसोम स्थित नेपाली सेनाले बिस्पोटक पदार्थ उपलब्ध गराउने जनाएकाले काम ढिलाई नहुने दोहोर्याए । मजदुर र बिस्पोटक पदार्थ भण्डारणको व्यवस्था मिलाएर काम शुरु गर्ने योजना रहेको उनले बताए ।

उपल्लो मुस्ताङमा यसवर्ष लगातार परेको हिउँ अझै पग्लिसकेको छैन । समरदेखि माथिको भेकमा सडकमा ३ फिट बढी बरफ जमेकाले मजदुरलाई काममा फर्कन ढिलाई भएको करिडोरले जनाएको छ । हिउँदयामको चिसोका कारण घर फर्किएका मजदुर अझै मुस्ताङ फर्कन सकेका छैनन् भने सहज रुपमा काम गर्न सक्ने अवस्था समेत देखिन्न । आयोजना प्रमुख अधिकारीले बैशाखको पहिलो सातासम्म सबै मजदुर काममा फर्कनेमा ढुक्क भएको बताए ।

उपल्लो मुस्ताङको सबै खण्डमा काममा प्रगति देखिए पनि समर–भेना खण्डको काम अघि नबढ्दा उपल्लो मुस्ताङको यात्रा असहज बनेको हो । उक्त खण्डको काम अघि बढेमा उपल्लो मुस्ताङ यात्राका लागि सहज रुपमा सवारी साधन पुग्न सक्ने अवस्था देखिन्छ । उपल्लो मुस्ताङ जाने जीपहरुले समर–भेना सडकको अप्ठ्यारो भीरको जोखिम यात्रा गर्न बाध्य छन् । सजिलो स्थानमा कामको प्रगति देखाई भुक्तानी लिने निर्माण कम्पनीको रवैयाका कारण समर–भेना सडक खण्डमा ठेकेदारले चाँसो नदिएको जनगुनासो छ ।

करिडोरले जोमसोम–कोरला सडक खण्डको तेस्रो प्याकेजका काम बाहेक अन्य ६ प्याकेजका काम आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने करिडोरले जनाईएको छ । सम्झौता अवधि सकिएर पहिलो पटक म्याद थपिएको उक्त खण्डमा समय अवधि थपिएको हो । थपिएको अवधि पनि असारमा सकिंदै छ ।

उक्त खण्डका ठेकेदारको सुस्तता र भौगोलिक समस्याका कारण समर–भेना सडक विस्तार कार्य तोकिएको समयमा पुरा नहुने करिडोरको भनाई छ । रिडोरले जोमसोम–कागबेनी कालोपत्रे गर्ने, राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडारले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ यात्रा सहजताका लागि जोमसोम–कागबेनी सडकलाई थप कालोपत्रे गर्ने जनाएको छ ।

आयोजनाका ईन्जिनियर जगत प्रजापतिका अनुसार जोमसोमदेखि कागबेनी कालोपत्रे गर्न अहिलेको आवश्यकता भएकाले यसबारे विभागमा कुराकानी भएको बताए । उनले कालोपत्रेबारे विभाग सकारात्मक रहेको जानकारी दिए ।

जोमसोम–ताङ्वे १८ किमीको ग्राभेल सम्पन्न हुनसाथ कालोपत्रे प्रक्रिया अघि बढ्ने ईन्जिनियर प्रजापतिले बताए । ‘आर्थिक वर्ष ०७६/७७ को सुरुआतमै डबल लेनको कालोपत्रे ठेक्का प्रक्रिया अघि बढाईने भएको हो । यसअघि कागबेनी/मुक्तिनाथ १२ किमी सडकमा डोलिडारले कालोपत्रे विस्तार गरी संचालनमा ल्याइसकेको छ ।

करिडोरले यसै वर्ष मुस्ताङको जोमसोमदेखि कोवाङ खण्डसम्म कालोपत्रे गर्ने तैयारी गरेको छ । हाईअल्टिच्युट मुस्ताङमा करिडोरले गर्ने कालोपत्रे प्रयोगात्मक हुने ईन्जिनिय प्रजापतिले जानकारी दिए । अस्पाल प्रविधिबाट गरिने कालोपत्रे मुक्तिनाथ सडकको भन्दा फरक प्रकारको हुने प्रजापतिले बताए ।

कालिगण्डकी करिडोरको बेनी÷जोमसोम सडकखण्डमा ४ वटा प्याकेज छन् । म्याग्दी खण्डमा २ र मुस्ताङ खण्डमा २ प्याकेजमा काम भईरहेको छ । म्याग्दीको राहुघाटदेखि तातोपानी सम्म शर्मा युनाईटेड जेभीले ४० प्रतिशत काम सम्पन्न गरेको छ ।

यहाँ वाल लगाउने, सडक चौडा गर्ने र चट्टान काट्ने काम भईरहेको आयोजनाले जनाएको छ । म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा काईको खोला सम्मको शर्मा गजुरमुखीले निर्माणको जिम्मा लिएको हो ।

यहाँ सडकको काम ५० प्रतिशत सकिएको छ । ईन्जिनियर प्रजापतिले काभ्रेभीरदेखि काईको खोलासम्मको करिब ३ किमी सडक चट्टाने भीर भएकाले डिजाईन ६ मिटरको मात्र भएको खुलाए । ‘साविकको भीरको सडकको डिजाईन कम्ति छ ।

ग्रेडरले चट्टान काट्ने काम पनि ढिला भइरहेको छ’, उनले भने, ‘म्याग्दी खण्डको भीरकाटे र काभ्रे भीरमा बिस्पोटक पदार्थ प्रयोग गर्न आवश्यक देखिएको कुरा विभागमा राखेका छौं, ब्लास्टिङ गरेर काम गर्न सकियो भने कामले गति लिन्छ ।’ उनले असहज स्थानमा पनि पुरै ११ मिटरको विकल्प खोजिएको जनाए ।

यस्तै, मुस्ताङको घाँसदेखि कोवाङ खन्तीसम्म शर्मा गजुरमुखीले ३५ प्रतिशत काम सकेको छ । यहाँ अब छिट्टै सडक ग्राभेलको काम शुरु हुने जानकारी दिए । जोमसोमदेखि कोवाङ खन्तीसम्मको सडक विस्तारको जिम्मा लिएको पप्पु कोशी एण्ड न्यौपानेले ४० प्रतिशत काम सम्पन्न गरेको छ । यहाँ मार्फादेखि टुकुचेसम्म ग्राभेल समेत भएको जनाईएको छ ।

ईन्जिनियर प्रजापतिले जोमसोममा पनि सडक बिस्तारका मुख्य काम बाँकी रहेकाले शिघ्र काम अघि बढाईने तैयारी भईरहेको सुनाए ।उनले मजदुर र मेशिनको तालमेल नमिल्दा काममा अपेक्षा गरेअनुसार प्रगति हुन नसकेको स्वीकार गरे । उनले बेनी–जोमसोम सडक बिस्तारको समयसिमा १० महिना बाँकी रहेको जानकारी दिए ।

कोरला सडकमा ३४ पुल
बेनी–जोमसोम कोरला सडकमा ३४ वटा पुल आवश्यकता देखिएको छ । मुस्ताङको बोक्सी खोला, समर खोला र म्याग्दीको बेग खोलामा अझै प्लको डिजाईन हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको इन्जिनियर प्रजापतिले सुनाए । उनले आयोजनाले थालेका मुख्य प्राथमिकता परेको घमी र चराङ खोलामा ठेक्का प्रक्रिया अघि बढी पुलको काम अघि बढेको जनाए ।

यस्तै, लोमान्थाश, किम्लिङ र भर्मा खोलामा ठेक्का खुलाई मूल्याङ्कन अघि बढेको छ । करिडोरले पुलका सबै ठेक्का प्रक्रियाका मा सकेपछि आयोजनाले गर्ने सबै प्रक्रिया पुरा हुने जनाईएको छ । करिडोरले यसअघि ढिलासुस्ती गर्दै आईरहेको कागबेनी पुलका कन्ट्रक्सनलाई १ महिना भित्र काममा नआए कालो सूचीमा राखेर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यो पुल उपल्लो मुस्ताङ जोड्ने महत्वपूर्ण प्राथमिकताको पुल मानिएको छ । करिडारद्धारा शुरु गरिएका पुलमध्ये पान्डाखोलाको पुलमात्र अन्तिम चरण पुगेको छ । अन्यमा प्रायः पुलहरुको यसै वर्षदेखि निर्माणकार्य सुरुआत हुने जनाईएको छ ।