सिद्धार्थ क्लब पोखराको रक्तदान

- १ सय २९ युनिट रगत संकलन

पोखरा महानगरपालिका वडा नं. ४ स्थित सिद्धार्थ क्लब पोखराले बिहीबार रक्तदान कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा १ सय २९ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा सिद्धार्थ टोल विकास संस्था, भवानी आमा समूह र सम्झौता नारी जागृति समूहको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठ र पोखरा सिद्धार्थ हेल्थ केयरका सञ्चालक डा. मानबहादुर गुरुङ्गले सिद्धार्थ क्लबका सदस्य मदनकुमार मुल्मीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि डा. गुरुङले रक्तदान जत्तिको महत्वपूर्ण र पूण्य मिल्ने काम अरु कुनै नभएको बताए । उनले रगतको विकल्प अन्य हुन नसक्ने भन्दै रगतको महत्व बुझाएर सबैले रक्तदान गर्नु वातावरण मिलाउनुपर्ने खाँचो औंल्याए ।

समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । क्लबले स्थापना कालदेखि नै निरन्तर तथा आवश्यक पर्दा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।

कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पार्वती माकाजूले गरेकी थिइन् भने सञ्चालन निवर्तमान अध्यक्ष रवी मर्सानी र सचिव प्रमोद श्रेष्ठले गरेका थिए ।

रेडियो अन्नूर्णको तयारी पूरा
रेडियो अन्नपूर्णले शनिबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सबै तयारी पूरा भएको बताइन्छ । रेडियोको आफ्नै प्राङ्गण गैरापाटनका कार्यक्रम आयोजना गरिएको छ ।

स्वास्थ्यका लागि रक्तदान भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार बिहान ७ः३० बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ । पोखरामा रक्तदान गर्ने संघसंस्थामा रेडियो अन्नपूर्ण उत्कृष्ट सूचीमा छ ।