५ ठाउँमा स्मार्ट पार्किङ सुरु गरिदैँ

नयाँ वर्ष २०७६ को शुरुवातसँगै काठमाडौंको न्यू रोडनजिकका ५ वटा ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु हुने भएको छ । काठमाडौं महानगरले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यका यो सेवा शुरु गर्न लागेको हो । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवनपद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि लामो समयदेखि प्रविधिमा आधारित समाधान हेरिरहेको महानगरले उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजना अघि बढाएको हो । 

अहिले व्यस्त बजारमा सवारी लिएर जानुप¥यो भने उपभोक्ताहरुलाई पार्किङ गर्ने ठाउँ खोज्दा खोज्दै दिक्क हुन्छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा मेरो प्राथमिकतामा छ, पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ ।’ 

वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाईपछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ । यी स्थानमा एकपटकमा करीव ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ । प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले भने, ‘ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम शुरु हुनेछ । नयाँ सडक जानुअघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन् ।’

‘ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्,’ अग्रवालले भने, ‘त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछन्, उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राखिनेछ ।’ 

ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रति घण्टा करबाहेक २० रुपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रति घण्टा २०० रुपैयाँ शुल्क लाग्ने पनि बताइएको छ । यसरी संकलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजस्व बुझाउनेछन् । 

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्रअनुसार शुल्क निर्धारण गरिएको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नं. २ मा पर्छन् । त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्क रोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । 

काठमाडौंमा सवारी पार्किङ व्यवस्थापनका लागि ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ निर्माण तथा सञ्चालनमा ल्याउन सकिने प्रस्तावहरु आएका छन् । यीमध्ये अहिले प्रयोगमा ल्याउन लागिएको प्रणालीमा सेन्सरमा आधारित छ । यसमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिने इन्जिनियर अग्रवालको भनाइ छ । यसका एप्लिकेसनहरु एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिन्छ । 

काठमाडौंमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन् । बाँकी समय पार्किङ गरिएका हुन्छन् । त्यसैले पार्किङको समस्या बढेको हो । पहिले एक परिवारमा एउटा मात्र सवारी साधन हुन्थ्यो । अव हरेक परिवारका लागि एक एक वटा सवारी चाहिने बेला भइसक्यो । यसबेला परम्परागत रुपमा गरिने पार्किङले मात्र समस्याको समाधान निकाल्न सक्दैन । यसका लागि प्रविधिमा आधारित व्यवस्था नगरी नहुने महानगर प्रमुख शाक्यको भनाइ छ ।