लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्य आफ्नो चुनाव प्रचार गर्न सक्रिय भएर लागेका छन् । उनले चुनाव प्रचार मात्र गरेका छैनन गभर्नर बने पश्चात गर्ने कामको रणनीति बनाउन सुझाव संकलन समेत गरेका छन् ।
यसैक्रममा उनी स्याङ्जाको पुतलीबजार, वालिङ र गल्याङका लायनहरुसंग भेटघाट, छलफल एवं सुझाव संकलन गरेर फर्किएका छन् । स्याङ्जामा उम्मेदवार आचार्यको उपस्थितिले त्यहाँस्थित लायनहरु उत्साहित देखिएका छन् । उनीहरुले उम्मेदवार आचार्यलाई चुनावबाट नडराउन र जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न आग्रह गरेका छन् ।
उनीहरुले लायन्समा आशालाग्दा व्यक्तित्व आचार्य मात्रै भएको भन्दै चुनावबाटै योग्य व्यक्ति आउने भएकाले नडराउन उम्मेदवार आचार्यलाई सुझाव दिए । लायन्स भित्र राजनीति हुन खोजेको भन्दै त्यसलाई चिर्न र विकृति विसंगति रोक्न आचार्यको उम्मेदवारी उपयुक्त भएको भन्दै उनीहरुले आचार्यलाई सबैको साथ र समर्थन रहने स्पष्ट पारे ।
उक्त अवसरमा उम्मेदवार विशेश्वर आचार्यले सबैको भावना, चाहना, सल्लाह र सहमति अनुसार आफू अघि बढेको भन्दै कदापि पछि नहट्ने स्पष्ट पारे । उनले लायन्सभित्र मन विभाजन गर्ने चेष्टा भएको भन्दै यसलाई असफल पार्नुपर्ने बताए ।

साथै सहमतिको प्रयास भइरहेको, सहमतिकै लागि अग्रजहरुले पनि प्रयास गरिरहेको र पटकपटक छलफल भइरहेको भन्दै अन्तिममा सहमति भएर आफू एकमात्र उम्मेदवार बन्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘ममाथि अन्यायको प्रयास भइरहेको छ । न्यायाको खोजीमा तपाइँहरु समक्ष आएको छु । लायन्सभित्र एकखालको सहमति, तपाइँहरुसंगको सल्लाहबाट मात्र म अघि बढेको छु । मलाई विश्वास छ मैले अवश्य न्याय पाउनेछु ।’
चुनावी प्रचारप्रसारको क्रममा तनहुँको खैरेनीटार दुलेगौंडा क्षेत्रमा तनहुँ र दुलेगौंडा दुलेगौंडामा लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटीका पूर्व अध्यक्ष मोती पौडेल, गण्डकी मल्टिपल कलेजका प्रिन्सिपल मोहदत्त पोखरेल, शुक्लागण्डकी टाउनका संस्थापक अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष प्रदीप थापा, खैरेनी सिटीका अध्यक्ष हरि खड्का जोन चियरपर्सन ज्योती श्रेष्ठ, रिजन चियरपर्सन कृष्णप्रदाद पौडेल कमिटी चियरपर्सन तीर्थ खनाल लगायतले बोलेका थिए ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रलका अध्यक्ष रामजी घजुको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्वय माधवप्रसाद पौडेल, मिलन सुवेदी, पृथ्वीराज तिमिल्सिना र सचिव केयरसिंह गुरुङले बोलेका थिए ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । उक्त महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिएका आचार्य धवलागिरि पछि स्याङ्जाको मत र समर्थन मागेर फर्किएका छन् । उनी अब तनहूँ, लमजुङ, गोरखा, धादिङ, रसुवा हुँदै काठमाडौं जाने कार्यक्रम रहेको निर्वाचनका प्रचारप्रसार समिति संयोजक दुर्गा प्रसाद हुमागाइँले जानकारी दिए ।






