प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित

गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रविधिले फड्को मारिरहेको वर्तमान सन्दर्भमा समयानुकूल तालीम एवं प्रशिक्षण आवश्यक रहेको बताए । विभिन्न कार्यक्रममा समयको दुरुपयोग हुने गरेकाले विधेयकको कार्यान्वयन प्रक्रियाको थालनी समयको पालना विषयमा प्रशिक्षण दिएर शुरु गर्न उनले सुझाव दिए ।

प्रदेशसभा सदस्य ओमकला गौतमले प्रविधि र समयको मागलाई आत्मसात गर्नु आवश्यक भएको उनले बताए । विधेयक उद्देश्य प्राप्तिमा लक्षित हुनुपर्ने उनको धारणा थियो ।
प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले विधेयक कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे ।

उनले समयको मागअनुरुप व्यावसायिकता र दक्षता अभिवृद्धि गर्न विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।