नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन सरकारले अनेक उपाय गर्न लागेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसका गतिविधिमा सहयोग पुग्ने गरी चन्दालगायतका सहयोग गर्नेलाई पनि कारवाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लवको गतिविधिलाई सहयोग गर्नेलाई हालै मन्त्रीपरिषदवाट पारित भएको अपराधिक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कार्बाही हुने जनाएको छ ।
‘विप्लव समूहबाट सञ्चालित अपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन बमोजिम कार्वाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । कोही कसैले त्यस्तो आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा सहयोग दिने र लिने दुवैलाई कार्बाही गरिने गृहको विज्ञप्तिमा उल्लेख छ ।






