नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पोखरा रंगशालाको क्रिकेट खेल मैदान एक दिवसीयका लागि उपयुक्त भएको बताएका छन् । पोखरा प्रिमिएर लिग (पिपिएल) को दोस्रो संस्करणको तयारीका लागि पोखरा आएका पारसले पोखरा रंगशालाको क्रिकेट मैदान नेपालमा नै उपयुक्त भएको स्पष्ट पारे ।
उनले त्रिवि क्रिकेट मैदानलाई आइसिसीले मान्यता दिए नेपालको अर्को उपयुक्त मैदान भनेको नै पोखरा रंगशालाको क्रिकेट मैदान भएको बताए ।
नेपालको क्रिकेट संघले अझै पनि फुकुवा नपाइसकेको अवस्थामा नेपाली क्रिकेटले आशातित सफलता नपाएको भन्दै पारसले पोखरा रंगशालामा सन २०२० सम्म कुनै १ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोंचका साथ अघि बढेको बताए ।
‘गत संस्करणको पिपिएलमा सहभागी केही अन्तर्राष्ट्रिय खेलाडीले पनि मैदान उपयुक्त रहेको र यहाँको पिचमा खेल्नु छुट्टै अनुभव संगालेको कुरा आफूलाई बताएको’ कप्तान पारसले उजागर गरे ।
पोखराको क्रिकेट मैदानमा धेरै निर्माण गरेर ठूलो खर्च गर्नु भन्दा पनि यसलाई प्राकृतिक रुपमा नै रहने दिएर केही अत्यावश्यक कुरा मात्रै निर्माण गर्न सके राम्रो हुने र त्यसका लागि ७० देखि ८० लाख खर्च गरे पुग्ने कप्तान पारसले बताए ।
उनले पोखरा रंगशालमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर उदाहरणका रुपमा प्रस्तुत गर्न चाहेको समेत बताए ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा रंगशाला पुगेर क्रिकेट मैदानको स्त्तरोन्नतिका बारेमा छलफल गरेका थिए । सो अवसरमा मुख्य मन्त्री गुरुङले संघीय सरकार र प्रदेश सरकारको खेलकुद नीति प्रष्ट नभइसकेकोले पनि पूर्वाधार विकास अघि बढन नसकेको स्पष्ट पारे ।
तर पनि नेपाली टिमको कप्तान पारस खडका नै आएर क्षेत्रको क्रिकेट विकासमा चासो दिएकाले पनि आफू एक खेलप्रेमी भएको नाताले केही गर्नु पर्छ भन्ने लागेको मुख्यमन्त्री गुरुङले बताए । उनले पोखरा रंगशाला क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि परियोजनापत्र तयार गर्न आग्रह गरे ।
उक्त अवसरमा मुख्यमन्त्री गुरुङलाई पिपिएलको आगामी तयारी बारे क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी गराएका थिए ।




