क्रिया गर्ने कि नगर्ने ? गरे कति दिन गर्ने ?

कसैको मृत्यु भएपछि गरिने कर्म लाई सामान्यतया “क्रिया गर्ने” भन्ने चलन छ । अहिले यत्रतत्र चर्चा सुनिन्छ- क्रिया गर्नै पर्दैन । यदि लोकलाज का कारण गर्नै परे पनि २-४ दिन गरे पुगिहाल्छ भनेको पनि सुन्नमा आएको छ । फेरि कसैले परम्परा लाई नबिग्रने हिसाब ले ७ दिन गरे पनि हुन्छ भनेको पनि सुनिन्छ । इनै कुराहरु लाई आपस मा छलफल होस् र तत्त्वबोध होस् भन्ने मनशाय ले यहाँहरु समक्ष प्रस्तुत गरेको छू ।

हिन्दूधर्म का सोह्र संस्कार मध्ये सबैभन्दा अन्तिम को संस्कार अन्त्येष्टि संस्कार हो । मृत्यु लाई नै एस जीवन को अन्त्य मानेर मृत्युकाल र मृत्यु पछि गरिने हुँदा एस संस्कारकर्म लाई अन्त्येष्टि वा अन्त्यकर्म भनिएको हो । एसलाई हाम्रा शास्त्रहरु आगामी जीवन वा अन्तिम यात्रा को पूर्व तयारी मान्दछन् । तेसैले यो पूरा विधिपूर्वक होस् भन्ने हाम्रा पूर्वजहरु को निर्देशन छ ।

आजकल को व्यस्त जीवन मा एसलाई घटाउन मिल्ने हद सम्म घटाउनु पर्छ कि भन्नु धर्मविरोधी कुरा होइन ।

अन्त्येष्टि कर्म गर्ने कर्ता लाई “क्रियापुत्री” भनिन्छ । पुत्रहरु लाई पनि क्रियापुत्री नै भनिन्छ । क्रियापुत्रीहरु शुद्ध भएर अरु कसैसँग नछोईकन दश दिन सम्म थला मा गएर विविध कर्म सँगै पिण्डदान गर्ने र दशौं दिन मा नै डिकुरो फुटाउने विधान छ । एघारौं र बाह्रौं दिन मा गरिने अन्य कर्महरु छन् । तेह्रौं दिन को दिन मलामी गएका तथा अन्य इष्टमित्र लाई बोलाएर खुवाउने र दानदक्षिणा दिने चलन छ ।

क्रिया गर्ने कि नगर्ने ?

अन्त्येष्टि लाई लिएर अहिले हाम्रा समाज मा चर्चा मा आएका कुराहरु एस्ता हुन्छन् । इनलाई एस संक्षिप्त लेख मा संक्षेप मै भए पनि यथाशक्य उत्तर दिने कोशिश गर्ने छू ।
१. फलाना ले त आफ्ना बाबु को क्रिया गरेनन् । ढिस्काना ले आमा को क्रिया गरेन । 
२. कसैले आँफूलाई प्रगतिशील भएको सिद्ध गर्न आफ्ना सन्तान लाई क्रिया नगर्नू भनेर निर्देशन दिए ।
३. जो धर्मात्मा छ उसको क्रियै गर्न पर्दैन र जो पापी छ तेस्ताको क्रिया गरे पनि दुःख पाउने पाइहाल्छ भने पछि क्रिया किन गर्नु पर्यो ?
४. भौतिक रुप मा दिइएको पिण्ड अभौतिक जीवात्मा ले कसरी ग्रहण गर्छ ?
५. अन्य जीवजन्तुहरु ले क्रिया गरेको देखिँदैन त ? के उनीहरु को आत्मा ले मुक्ति पाउनु पर्दैन ?

हिन्दूधर्म लाई रुढीग्रस्त मानेर एसो भनिएको हो भने यहाँनेर एउटा बुझिहाल्नु पर्ने कुरा छ- अन्त्येष्टि कर्म हिन्दूधर्म मा मात्र होइन अन्य धर्म मा पनि गर्ने आआफ्नै विधान छ । आँफूलाई प्रगतिशील देखाउन वा महान् सिद्ध गर्न क्रिया नगर्ने वा गर्नु पर्दैन भन्ने महानुभावहरु लाई केही प्रश्न छन् । रुढीवाद लाई पक्षपोषण गर्नु राम्रो होइन तर क्रियाकर्म रुढीवाद हो भन्ने कुरा कसरी सिद्ध गर्नुहुन्छ ? के संस्कृत छोडेर अंग्रेजी को गुलाम हुनु प्रगतिशील हुनु हो ? के हाम्रा ऋषिमुनि का विचार लत्याएर पश्चिमीहरु को विचार शिरोपर गर्दा आँफूलाई प्रगतिशील भएको अनुभव गर्नुहुन्छ ?

सुधारयोग्य केही कुरा होलान् तर पूर्ण रुप ले त्याज्य विषय यो होइन । मानिस को मृत्यु लाई हलुका ढंग ले लिनु हुँदैन । परिवार लाई उसको मृत्यु सहन गाह्रो परिरहेको हुन्छ । तेस्तोमा छिमेकी, इष्टमित्र मिलेर मलामी जानुले दुःख बाँडिएको महसूस हुन्छ । मानसिक पीडा बाट उन्मुक्ति पाउन लाग्ने केही दिन सम्म मृतक का अति निकट सदस्यहरु लाई अनेक कृत्य मा भुलाएर राख्नाले उनीहरु डिप्रेशन का शिकार हुने सम्भावना न्यून भएर जान्छ ।

मृतक प्रति कुनै लगावै छैन भने अर्कै कुरा नत्र प्रियजन को वियोग भनेको ठूलो मानसिक पीडा हो । एसको राम्ररी व्यवस्थापन भएन भने परिवार का कमजोर सदस्यहरु डिप्रेशन का रोगी हुने सम्भावना हुन्छ । अन्त्येष्टि संस्कार को व्यवस्था गर्दा हाम्रा ऋषिमनीषीहरु ले यो कुरा लाई पनि ध्यान मा राखेको हुनुपर्छ ।

चाहे धर्मात्मा हुन् र चाहे धर्मात्मा नहुन् परिवार का लागि मृतक अप्रिय हुँदैनन् । धर्मात्मा का लागि क्रिया गर्नाले जीवात्मा को परलोक गमन मा कुनै बाधा हुँदैन भने क्रिया गरेर के बिग्रियो ? हुनसक्छ कतै मन्त्रोच्चारण का कारण मन्त्र का प्रभाव ले मृतक लाई अर्पण गरेको पिण्ड जीवात्मा ले उपयोग गर्न मिल्ने किसिम को इलेक्ट्रोम्याग्नेटिक वेभ जस्तै कुनै तरङ्ग मा परिवर्तित पो हुन्छ कि ! भाव वा शब्द पुगे त भइहाल्यो । जस्तो कि इन्टर्नेट का माध्यम ले मैले यहाँ लेखेका कुराहरु तपाईंहरु सामू आइपुगेका छन् र पढेर खुशी भइरहनुभएको छ । मलाई मेरा सन्तान ले सम्झेका छन् भन्ने थाहा पाएर जीवात्मा आनन्दित हुने पो गरेको छ कि । भनिएकै छ- पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः ।

पशुहरु को अन्त्येष्टि किन गर्नु पर्दैन भन्ने बारे मा पनि हाम्रा धर्मशास्त्र मा व्यवस्था छ- “सञ्चयः क्रियते लोके मनुष्यैरेव केवलम् । नान्यः प्राणी महाभाग फलयौनौ व्यवस्थितः ।”
धर्मशास्त्र का अनुसार मनुष्य ले मात्रै कर्मानुसार को फल भोग गर्छ । अन्य जीवजन्तुहरु मृत्युपश्चात् तत्कालै अर्को जन्म मा पुग्छन् ।

क्रिया गरेमा कति दिन गर्ने ?

माथी अन्त्येष्टि कर्म को चर्चा गर्दा दशौं दिन मा डिकुरो फुटाए पछि एघारौं र बाह्रौं दिन मा विविध कर्म गरी तेह्रौं दिन मा भोजन गराउने कुरा भनियो । यो हिसाब ले १३ दिन सम्म क्रियापुत्रीहरु क्रियाकर्म मै व्यस्त हुने देखियो । पौराणिक काल मा क्रियाकर्म ले धेरै लामो समय लिने गरेको कुरा पनि पढ्न पाइन्छ । तर आजकल को व्यस्त जीवन मा एसलाई घटाउन मिल्ने हद सम्म घटाउनु पर्छ कि भन्नु धर्मविरोधी कुरा होइन ।

क्रियै नगर्नु भन्दा केही दिन घटाएर भए पनि शास्त्र नबाझिने किसिम ले क्रिया गर्नु कता कता प्रशंसनीय कुरा हो । यदि क्रियापुत्रीहरु फुर्सदिला छन् भने तेह्रै दिन गरेको राम्रो हो । तर फुर्सद छैन भने अथवा उनीहरु का हातगोडा क्रियाकर्म मा बाँधिनाले उनीहरु का भर मा बाँचेका परिवार ले दुःख पाउने अवस्था छ भने शास्त्रीय विधि को मर्यादा हनन नहुने हिसाब ले सात दिन मा क्रियाकर्म सम्पन्न गर्न सकिन्छ । अर्थात् पाँच दिन सम्म हरेक दिन दुइटा पिण्ड दान गरी पाँचौं दिन मा डिकुरो फुटाल्ने र एघारौं दिन को काम छैटौं दिन मा तथा बाह्रौं र तेह्रौं दिन को काम सातौं दिन मा सम्पन्न गरेर एसलाई छुटकरिलो बनाउन सकिन्छ । कसरी हुन्छ हिन्दूधर्म लाई सरल, वैज्ञानिक र व्यावहारिक बनाउने कार्य मा हामी सबै एकजुट हुनुपरेको छ । ताकि सबैले हामी र हाम्रो धर्म को तारीफ गरुन् ।