पर्वतका लायनहरुले लायन्सभित्र एकता आवश्यक भएको बताएका छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्यसंग उनीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले विश्वको ठूलो सामाजिक संस्था लायन्समा सहमति, सहकार्य र एकता गर्दै महाधिवेशनमा सर्वसम्मत एकमात्र उम्मेदवार बनाउनुपर्नेमा जोड दिए । साथै उनीहरुले एकमात्र उम्मेदवार विशेश्वर आचार्य नै हुनुपर्नेमा पनि जोड दिएका छन् ।
लायन्सभित्र मतसंगै मन पनि विभाजन गराउने प्रयासले आफूहरुलाई निकै चिन्ता लागेको भन्दै उनीहरुले यसतर्फ सबै लायनहरु सतर्क हुनुपर्नेमा जोड दिए । उनीहरुले लायन्स महाधिवेशनमा २ जना उम्मेदवार खडा भएको सुनेको तर आचार्यका प्रतिस्पर्धी उम्मेदवार कस्तो हुनुहुन्छ भन्ने विषयमा आफूहरुलाई जानकारी नभएको स्पष्ट पारे ।
लायन्समा आचार्यको त्याग, लगाव र भूमिका निकै महत्वपूर्ण हरेको भन्दै पर्वतका लायनहरुले उहाँको भूमिकालाई आफूहरुले मूल्यांकन गरेकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनीहरुले लायन्समा आचार्यको प्रवेशसंगै धवलागिरिले पनि उचित स्थान पाउने अपेक्षा गरे । ‘पर्वतबाट सबै मत एकै ठाउँमा जान्छ । समग्र धवलागिरिको मत पनि एकै ठाउँमा जाने वातावरण बनाउन प्रयास गर्नेछौं’, पर्वतेली लायनहरुले स्पष्ट पारे ।

जवाफमा उम्मेदवार विशेश्वर आचार्यले सबैको भावना, चाहना, सल्लाह र सहमति अनुसार आफू अघि बढेको भन्दै कदापि पछि नहट्ने स्पष्ट पारे । उनले लायन्सभित्र मन विभाजन गर्ने चेष्टा भएको भन्दै यसलाई असफल पार्नुपर्ने बताए ।
साथै सहमतिको प्रयास भइरहेको, सहमतिकै लागि अग्रजहरुले पनि प्रयास गरिरहेको र पटकपटक छलफल भइरहेको भन्दै अन्तिममा सहमति भएर आफू एकमात्र उम्मेदवार बन्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘ममाथि अन्यायको प्रयास भइरहेको छ । न्यायाको खोजीमा तपाइँहरु समक्ष आएको छु । लायन्सभित्र एकखालको सहमति, तपाइँहरुसंगको सल्लाहबाट मात्र म अघि बढेको छु । मलाई विश्वास छ मैले अवश्य न्याय पाउनेछु ।’
लायनवादको विकास र विस्तारका लागि आफूले सबै कुरा छाडेर हिंडेको भन्दै उनले लायन्सभित्र सबैको भावना र सबै व्यक्तित्व समेट्ने स्पष्ट पारे । उनले भने, ‘लायन्सभित्र थुप्रै विकृति, विसंगति छन् त्यसलाई पन्छाउँदै अघि बढ्छु । सबैको राय सुझाव, नयाँ सोंच र योजनाका साथ लायन्सको गरिमालाई नयाँ उचाइमा पुर्यानेछु ।’
कार्यक्रममा सिनियर एड्भाइजर तथा शिक्षासेवी वसन्तकुमार कर्माचार्यले आचार्यको धवलागिरि प्रवेशसंगै १ वर्षदेखि सुस्ताएको लायनहरुमा उर्जा र रौनक आएको बताए । आचार्य लायन्सको नेतृत्वमा आए लायन्सले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।
कोचिफ एड्भाइजर काशी कुमार जोशीले लायन्सभित्र एकता हुनुपर्ने भन्दै सहमति गरेर १ मात्र उम्मेदवार बनाउनुपर्ने खाँचो औंल्याए ।
सिनियर एओजी सन्तोष रावलले धवलागिरिको माहोलले आचार्यको जित सुनिश्चित भएको भन्दै आचार्यलाई सर्वसम्मत उम्मेदवार बनाउन सबैले सहयोग गर्नुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा पिआरओ डा. चूडामणि शर्मा, रिजन चियर पर्सन सरस्वती भण्डारी, जोन चियर पर्सन अजिता शर्मा, लायन्स क्लब शिवालयका अध्यक्ष मानकुमारी गिरी, कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशु, पर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठक, ग्रिन सिटीका अध्यक्ष विमल शर्मा पौडेल, पर्वत गुप्तेश्वरका अध्यक्ष हरिओम शर्मा, पर्वत भूमीकोटका अध्यक्ष नवराज भण्डारी, पर्वत मोदीकालीका प्रथम उपाध्यक्ष बद्री पौडेल, लायन्स नेतृ मुना शर्मा लामिछाने लगायतले लायन्सभित्र एकता हुनुपर्नेमा जोड दिएका थिए ।

लायन्स क्लव अफ पोखरा सेन्ट्रलका अध्यक्ष रामजी घजुको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्वय माधवप्रसाद पौडेल, मिलन सुवेदी, पृथ्वीराज तिमिल्सिना र सचिव केयरसिंह गुरुङले बोलेका थिए ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । उक्त महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिएका आचार्य धवलागिरिको मत र समर्थन मागेर फर्किएका छन् ।
उनी अब स्याङ्जा, तनहूँ, लमजुङ, गोरखा, धादिङ, रसुवा हुँदै काठमाडौं जाने कार्यक्रम रहेको निर्वाचनका प्रचारप्रसार समिति संयोजक दुर्गा प्रसाद हुमागाइँले जानकारी दिए ।






