लायन्स महाधिवेशन : म्याग्दीको शतप्रतिशत एसमत विशेश्वर आचार्यलाई

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्यले म्याग्दीबाट शतप्रतिशत एममत प्राप्त गर्ने भएका छन् । उम्मेदवार आचार्य लायन्समा आफ्नो उम्मेदवारीबारे जानकारी गराउन र भावी रणनीतिबारे छलफल गर्न शुक्रबार म्याग्दी पुगेका थिए । त्यसक्रममा म्याग्दीका ७ वटा क्लबका अध्यक्ष, रिजन, जोन चियर पर्सनका साथै लायन्सका अगुवाहरूले आचार्यलाई म्याग्दीबाट शतप्रतिशत एसमत जाने प्रतिवद्धता जनाएका हुन् ।

उनीहरूले भने, ‘लायन्सलाई नयाँ बाटोमा दौडाउन सक्ने हैसियत विशेश्वर आचार्यमा मात्र छ । हामी उहाँलाई शतप्रतिशत एस मत दिन्छौं । उहाँले पनि हाम्रो माया र योगदान भुल्न पाउनुहुन्न ।’ साथै लायन्स र विशेश्वर आचार्य एक अर्काका परिपूरक भएको भन्दै उनीहरूले विशेश्वर बिना लायन्स अधुरो हुने स्पष्ट पारे ।

उनीहरूले अर्का प्रतिस्पर्धी उम्मेदवारसंग आफूहरूको चिनजान समेत नभएको भन्दै जातीय र राजनीतिक खोल ओढेर आउनेलाई कदापि स्वीकार नगर्ने बताए । ‘लायन्स पवित्र सामाजिक संस्था हो । यसमा न रंग हुन्छ, न जात । हामी यसको खुलेर विरोध गर्छौं । लायन्समा राजनीतिक र जातीय गन्ध आउन दिंदैनौं’, उनीहरूले भने ।

लायन्सका सिनियर एडभाइजर वसन्तकुमार कर्माचार्यले आशा र भरोषा गर्न लायक व्यक्तित्व विशेश्वर आचार्यमात्र भएको भन्दै पूर्ण समर्थन हुने स्पष्ट पारे । उनले धवलागिरिका सबै वासिन्दालाई पायक पर्ने आँखा अस्पताल आवश्यक रहेको भन्दै यसमा डिष्ट्रिक्टको ध्यान जानुपर्ने खाँचो औंल्याए ।

सिनियर एओजी सन्तोष रावलले आचार्यको धवलागिरि प्रवेशले उत्साह जगाएको भन्दै म्याग्दीका साथै समग्र धवलागिरिको एउटै साझा धारणा बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले आचार्यलाई लायन्सलाई नयाँ ढंगले अघि बढाउने विश्वास समेत व्यक्त गरे ।
रिजन चियर पर्सन दीपेन्द्र श्रेष्ठले आचार्य लायन्स हाँक्न सक्ने योग्य व्यक्तित्व भएको भन्दै म्याग्दीका साथै धवलागिरिकै शतप्रतिशत एसमत जाने बताए ।

जोन चियर पर्सन प्रमिला जोशीले अन्य उम्मेदवारको आफूहरूले नाम समेत नसुनेको भन्दै आचार्यलाई सघाउने प्रतिवद्धता जनाइन् । उनले मोफसलका क्लब तथा लायनहरूलाई गाइड गर्ने व्यक्तित्व आवश्यक भएकोे भन्दै यसमा डिष्ट्रिक्टको ध्यान जानुपर्ने बताइन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले लायन्समा सबैको महत्व र भूमिका रहनुपर्नेमा जोड दिए । उनले एउटा नेतृत्वले ल्याएका राम्रा कामहरू अर्को नेतृत्वले पनि निरन्तरता दिनुपर्ने खाँचो औंल्याउँदै क्याविनेट र क्लब बीचको आत्मीयता पनि बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा वेनी सिटी लायन्सका अध्यक्ष विनय श्रेष्ठ, बेनी महारानी लायन्सकी अध्यक्ष हीरादेवी पाध्या, बेनी मल्लाजका अध्यक्ष श्रीराज चापागाइँ, वेनी पिससिटीका अध्यक्ष लोकबहादुर पुन, म्याग्दी दोभानकी अध्यक्ष अम्विका श्रेष्ठ, लायन्स अगुवा विमला गौचन लगायतले बोलेका थिए ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रलका अध्यक्ष रामजी घजुको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्वय माधवप्रसाद पौडेल, पृथ्वीराज तिमिल्सिना, मिलन सुवेदी र सचिव केयरसिंह गुरुङले बोलेका थिए ।

उत्साहित छु, सधैं साथमा रहन्छु : आचार्य
उम्मेदवार विशेश्वर आचार्यले धवलागिरिमा आएपछि आफू निकै उत्साहित भएको भन्दै सदैव साथमा रहने प्रतिवता जनाए । उनले लायन्समा भएका विकृति विसंगति अन्त्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

लायन्समा आफ्नो ठूलो सपना रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले भने, ‘सपना एकल प्रयासले मात्र पूरा हुन सम्भव छैन । अदृश्य हातको आवश्यकता पर्छ ।’ आफूले सबैको सल्लाह र सुझाव अनुसार अघि बढेको भन्दै उनले आफ्नो यात्रा पूर्ण नभएसम्म विश्राम नलिने स्पष्ट पारे । आफू सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुने वित्तिकै लायन्समा लाग्नेहरूलाई सृमद्धितर्फ उन्मुख गराउन प्रयास गर्ने बताए ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । उक्त महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिएका आचार्य मत र समर्थन माग्न धवलागिरि आएका हुन् ।

धवलागिरिको कार्यक्रम पछि उनी स्याङ्जा, तनहूँ, लमजुङ, गोरखा, धादिङ, रसुवा हुँदै काठमाडौं जाने कार्यक्रम रहेको निर्वाचनका प्रचारप्रसार समिति संयोजक दुर्गा प्रसाद हुमागाइँले जानकारी दिए ।