लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्यले बाग्लुङबाट पूर्ण समर्थन प्राप्त गर्ने भएका छन् । लायन्समा आफ्नो उम्मेदवारीबारे जानकारी गराउन र सुझाव संकलनका लागि बुधबार बाग्लुङ आएका आचार्यसंग बाग्लुङका लायनहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएपछि आचार्यले पूर्ण समर्थन प्राप्त गर्ने सुनिश्चित भएको हो ।
बाग्लुङमा आयोजित आचार्यको उम्मेदवारीबारे छलफल तथा फेलोशिपमा लायन्सका अगुवा नेताहरूले आचार्य लायन्सका एकमात्र नक्षत्र भएको भन्दै आचार्यलाई नै सघाउने प्रतिवद्धता जनाए । उनीहरूले भने, ‘सबैलाई न्याय गर्न सक्ने ख्रूबी आचार्यमा मात्र छ । सबै दुःख, सुखमा साथ दिने व्यक्ति उहाँ नै हो । त्यसैले उहाँलाइ बाग्लुङका साथै समग्र धवलागिरिकै मत आउने वातावरण मिलाउन प्रयत्न गर्नेर्छौं ।’
कार्यक्रममा लायन अफ दी धवलागिरि देवबहादुर श्रेष्ठले आचार्यलाई विजयीको घोषणा गर्न बाँकी रहेको भन्दै आचार्यबाट धेरै आशा र भरोषा गरिएको बताए । ‘आशिर्वाद त अरुले पनि मागेका थिए तर हामीले आचार्यलाई वचन दिइसकेका छौं, अब दायाबाया गर्न मिल्दैन । बाग्लुङका साथै समग्र धवलागिरिको मत आचार्यलाई नै जाने निश्चित छ’, उनले भने । उनले नेपालको लायन्समा कम्तिमा ७ वटा डिष्ट्रिक्ट बनाउन सुझाव समेत दिए ।
बाग्लुङको सबै भन्दा पुरानो क्लब लायन्स क्लब अफ धवलागिरि बाग्लुङका अध्यक्ष तथा बाग्ल्ुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्त कुमार श्रेष्ठले सहमति, सहकार्य र एकता गरेर विशेश्वर आचार्यलाई सर्वसम्मत उम्मेदवार बनाउन आवश्यक रहेको बताए । उनले आचार्यलाई सघाउन समग्र धवलागिरि उत्रने स्पष्ट पारे ।
लायन्सका सिनियर एडभाइजर वसन्तकुमार कर्माचार्यले धवलागिरिको आवश्यकता र महत्व बुझ्ने एकमात्र व्यक्तित्व आचार्यमात्र भएको भन्दै आचार्यलाई पूर्ण समर्थन हुने बताए । ‘आचार्यको जित सुनिश्चित छ । ढुक्क भए हुन्छ । तर सर्वसम्मत बनाउन पनि प्रयास गर्नुपर्छ’, उनले भने । उनले लायन्समा भएका विकृति हटाउन आग्रह समेत गरे ।
सिनियर एओजी सन्तोष रावलले लायन्समा आचार्यको नाम निकालिदिए अधुरो हुने भन्दै आचार्य र लायन्स एकअर्कामा परिपूरक भएको बताए । उनले धवलागिरिको सबै मत आचार्यलाई जानेगरी वातावरण बनाउन प्रयत्न हुने स्पष्ट पारे ।
डिपुटी चिफ काजीमान गुरुङले लायन्समा धेरै अवसर रहेको भन्दै सक्रियतापूर्वक लाग्न आग्रह गरे । उनले लायनवादको विकास र विस्तारमा आचार्यको भूमिका महत्वपूर्ण रहेको भन्दै आचार्यलाई अवसर दिन कुनै कन्जुस्याइँ नहुने बताए ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रलका अध्यक्ष रामजी घजुको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सन नरेश कंडेल, जोन चियर पर्सनद्वय भरत शर्मा, दुर्गाबहादुर कुँवर, लायन्स क्लव अफ पोखरा सेन्ट्रलका पूर्व अध्यक्षद्वय गौरवराज भण्डारी, पृथ्वीराज तिमिल्सिना, मिलन सुवेदी, सचिव केयरसिंह गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा बाग्लुङ सिटी लायन्सका पूर्व अध्यक्ष रत्ना भण्डारी, पिस टायन लायन्सका अध्यक्ष शनिषा घले, बाग्लुङ लायन्सका प्रकाश चालिसे, बाग्लुङ कालिका लायन्सका प्रथम उपाध्यक्ष गोविन्द पौडेल गोपाल लगायतले विभिन्न सुझाव दिएका थिए ।
उम्मेदवार आचार्य उत्साहित
बाग्लुङ तथा धवलागिरिबाट पूर्ण समर्थन हुने भएपछि उम्मेदवार आचार्य निकै उत्साहित भएका छन् । उनले बाग्लुङको समर्थनले लायनवादको विकास र विस्तारमा आफ्नो अभियान र सक्रियता अझै बढ्ने बताए । उनले आफ्नो २० वर्षे लायन्स अभियान पूर्ण गरेरै छाड्ने प्रतिवद्धता समेत जनाए । ‘लायन्सलाई अझै माथि उठाउन प्रयत्न गर्नेछु’, आचार्यले भने, लायन्समा सबै अटाउने र सबैको भावना कदर हुने र गर्व गर्ने वातावरण बनाउनेछु ।’
लायन्समा आफ्नो ठूलो सपना रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले भने, ‘सपना एकल प्रयासले मात्र पूरा हुन सम्भव छैन । अदृश्य हातको आवश्यकता पर्छ ।’ आफूले सबैको सल्लाह र सुझाव अनुसार अघि बढेको भन्दै उनले आफ्नो यात्रा पूर्ण नभएसम्म विश्राम नलिने स्पष्ट पारे ।
लायन्समा महिला सहभागिता हाल २४ प्रतिशतमात्र रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले यसलाई बढाएर ३५ प्रतिशत पुर्याउने प्रतिवद्धता जनाए । पदमात्र ठूलो कुरा नहुने भन्दै आचार्यले पद पाए पछि आफ्नो जिम्मेवारी पूर्ण गर्न सक्रियतापूर्वक लाग्ने स्पष्ट पारे । आफू सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुने वित्तिकै लायन्समा लाग्नेहरूलाई सृमद्धितर्फ उन्मुख गराउन प्रयास गर्ने बताए ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । उक्त महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिएका आचार्य मत र समर्थन माग्न बुधबार बाग्लुङ आएका हुन् ।
उनी शुक्रबार बिहान बेनी र दिउँसो कुश्मा पुगेर सुझाव संकलन गरेर पोखरा फर्कने कार्यक्रम छ । त्यसपछि उनी स्याङ्जा, तनहूँ, लमजुङ, गोरखा, धादिङ, रसुवा हुँदै काठमाडौं जाने कार्यक्रम रहेको निर्वाचनका प्रचारप्रसार समिति संयोजक दुर्गा प्रसाद हुमागाइँले जानकारी दिए ।