नेपाल फाइनलमा प्रवेश

पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

विराटनगस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अघि बढाइन् ।

यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पुर्याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् ।

नेपालले शुरुआतदेखि नै आक्रामक खेलेको थियो । आगामी शुक्रबार नेपालले दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा जारी छ । यसमा भारत ३ गोलले अघि छ ।