पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर सडक दुर्घटनामा मृत्यु भएको छ । होली मनाउन काठमाडौंबाट पोखरा आउनेक्रममा बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो ।
दीपक सवार ग१३प ८०८५ नंबरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनिघाटरोराङ गाउँपालिका–५, बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । दुर्घटनामा घाइते मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






