
लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालको
सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार
लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालमा २ वर्षपछि डिष्ट्रिक्ट गभर्नर बन्न उम्मेदवारी दिएका विशेश्वर आचार्य मंगलबार एक कार्यक्रममा निकै उत्साहित देखिए । कार्यक्रममा बोल्दै गर्दा सहभागीको तालीले उनी हौसिए पनि । त्यति बेला उनले टुक्का समेत भन्न भ्याए, ‘लायन्समा पाइन्छ ताली, गोजी हुन्छ खाली, घरमा पुगेपछि पाइन्छ श्रीमतीले श्रीमानको र श्रीमानले श्रीमतीको गाली !’
उनले आफू ताली पाउन र बोल्नमात्र लायन्समा नलागेको भन्दै आफ्ना प्रतिवद्धता र वचन पूरा गरेरै छाड्ने स्पष्ट पारे । उनी लायन्समा अब गर्ने विभिन्न ७ बुँदे घोषणापत्र लिएर चुनावमा होमिएका छन् । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ ।
उनी करिब ३ वर्ष अघि लायन्समा जिम्मेवारी लिंदाको अनुभव शेयर गर्दा गर्दै अग्रजको आश्वासन सम्झिएर थप उत्साहित देखिए । आचार्यको उम्मेदवारी र लायन्समा अबका दिनमा उनले गर्ने भावी योजना सार्वजनिक गर्न पोखराका लायन्सहरूसंग अन्तरक्रिया गर्न कार्यक्रम आयोजना गरिएको थियो । आचार्यको होम क्लब लायन्स क्लब अफ पोखरा सेन्ट्रलले कार्यक्रम आयोजना गरेको हो ।
उक्त अवसरमा आफ्नो शुरुआती मन्तव्य राख्दै गर्दा उम्मेदवार आचार्यले विगतमा गरेका काम र अग्रजले आफूलाई दिएको आश्वासन सम्झिए र अहिलेको अवस्थासंग तुलना गरे । यहि सम्झना गर्दै गर्दा उनी उत्साहित भएका हुन् ।
उनले विगत स्मरण गरे, ‘ म क्याविनेट सेक्रेटरी बन्दै गर्दा, ठूलो जिम्मेवारी बोक्दै गर्दा मैले अग्रजहरूसंग भविष्य खोजेको थिएँ । त्यतिबेला उहाँहरूले ढुक्क भएर काम गर्नुस् । तपाइँ जत्तिको व्यक्ति लायन्समा आवश्यक छ भन्नुभएको थियो । यसले मलाई निकै हौसला प्रदान गरेको छ, उर्जा प्रदान गरेको छ ।’

उनले थपे, ‘मैले ५ वर्षदेखि आफ्नो व्यवसाय, सबै काम छाडेर लायन्समा लागेको छु । यो कुरा सबैले महसूस गर्नुभएको पनि छ । ५ वर्ष अघि अग्रजले दिनुभएको आश्वासन र सबैको समर्थनले म यो अवस्थामा आउँदा निकै उत्साहित भएको छु ।’
आफूले यात्रा शुरु गरिसकेको भन्दै आचार्यले यो यात्रालाई आँधी तुफानले पनि रोक्न नसक्ने स्पष्ट पारे । उनले भने, ‘लायन्समा २० वर्ष र महत्वपूर्ण जिम्मेवारीमा ३ वर्षदेखिको यात्रा जारी छ । अबको ३ वर्षको यात्रा पूरा गरेरमात्र विश्राम लिन्छु । अब यो यात्रामा जतिसुकै कठिनाई आए पनि रोक्किनेछैन ।’ आफूले नेतृत्वका लागि ५ वर्ष देखि नै तयारी गरिरहेको उनले स्पष्ट पारे ।
उनले आफ्ना प्रतिस्पर्धी उम्मेदवार ध्रुव श्रेष्ठलाई अब १ वर्ष धैर्य गरिदिन र आगामी वर्ष सर्वसम्मत बन्न आग्रह गरे । उनले भने, ‘ध्रुव दाई ! तपाइँ मलाई यस पटक सहयोग गरेर आगामी वर्ष सर्वसम्मत बन्ने प्रयत्न गर्नुस् । तपाइँको भूमिका, त्यागलाई लायन्सको इतिहासले मूल्यांकन गर्छ । पोखरामा फेरि १ पटक एकताको वातावरण बन्छ ।’
उनले थपे, ‘सर्वसम्मत उम्मेदवार चयन गर्न केही अग्रजहरू लागिरहनुभएको छ । म विश्वस्त छु, सर्वसम्मत हुन्छ ।’ ‘मेरा लागि तपाइँ लायन मतदाता न्यायाधीश बनेर उभिनुभएको छ । अब मलाई न्याय चाहिएको छ । तपाइँहरूको साथ र सहयोग चाहिएको छ’, उनले भने ।

आचार्यले चुनाव नै लड्न परे पनि आफू तयार रहेको भन्दै १ पटक सघाउन उनले आग्रह गरे । आफू उम्मेदवार बन्न योग्य नभएको जस्तो लाग्छ भने अहिल्यै भनिदिन उनले आग्रह गरे । लायनवादको विकास र विस्तारमा २० वर्ष योगदान दिएको भन्दै अबको ३ वर्ष स्वर्णिम बनाउने भन्दै सहयोग गर्न आग्रह गरे ।
उनले नेतृत्वमा जानका लागि चाहनाले मात्र नहुने भन्दै माथिबाट हात तानिदिने हात पनि आवश्यक हुने बताए । सबैको आशा र भरोषालाई कदापि टुट्न नदिने प्रतिवद्धता जनाउँदै उनले गर्व गर्न लायक डिष्ट्रिक्ट बनाउन आफू तयार रहेको स्पष्ट पारे । उनले लायन्स अन्तर्राष्ट्रियबाट नेपालमा हालसम्म आउन नसकेका प्रोजेक्टहरू ल्याउन कम्मर कसेर लाग्ने बताए ।
लायन्स क्लव अफ पोखरा सेन्टरका अध्यक्ष रामजी ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू पृथ्वीराज तिमिल्सिना, मिलन सुवेदी, विभिन्न लायन्स क्लबका युवराज सुवेदी, कृष्णप्रसाद तिमल्सिना, शोभाकान्त पौडेल, शोभा खत्री, दीपेन्द्र सुवेदी, पुनम बस्नेत, विष्णु प्रसाद सुवेदी, विनोद भुजेल, मीना भण्डारी, वासु जिसी लगायतले उम्मेदवार आचार्यसंग सवाल–जवाफ गरेका थिए ।






