एनालग प्रणालीको टेलिभिजन बन्द गर्ने सरकारी निर्णय अवज्ञा गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धरानको कृति दर्शन मिडिया प्रालिद्वारा सञ्चालित धरान केबलको एनालग टेलिभिजन बन्द गराएको छ ।
मन्त्रालयका उपसचिव तुलसी घिमिरेको नेतृत्वमा आएको टोलीले मङ्गलबार टेलिभिजन बन्द गराउँदै केही सामग्रीसमेत जफत गरेको छ । प्रालिले डिजिटलमा रूपान्तरण भइरहेकाले केही समयका लागि एनालग प्रणाली सञ्चालन गर्न पाउँ भन्दै उच्च अदालत पाटन ललितपुरमा रिट हालेको छ ।
सरकारले उपमहानगर र नगरपालिकाको हकमा २०७४ कात्तिक १५ गतेसम्म एनालग टेलिभिजन बन्द गर्न सूचना जाहेर गरेको थियो । सरकारले एनालगलाई डिजिटल प्रविधिमा रूपान्तरण हुनका लागि देशभरका केवल नेटवर्कहरूलाई सूचित गरेको थियो । सोही प्रक्रियाअनुरूप नै धरान केबल डिजिटलमा गइरहेको प्रालिका सञ्चालक सौखिन पलिखेले जानकारी दिए । प्रालिले रूपान्तरणको प्रक्रियामा रहेकाले केही समयसीमा बढाइदिन माग गर्दै अदालतमा रिट हालेको थियो ।






