साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

साविकको विजेता भारत समूह विजेता बन्दै महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेपछि नेपालले सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्दी पाएको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्दै भारत समूह विजेता बनेको हो ।

विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाविरुद्धको फराकिलो जितसंगै भारत समूह बी मा ६ अंक जोडेर समूह विजेता बनेको हो । पराजित श्रीलंका ३ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब भारतले सेमिफाइनलमा बंगलादेशसंग खेल्नेछ । बंगलादेश समूह ए को उपविजेता हो । यस्तै श्रीलंकाले समूह एको विजेता नेपालसंग खेल्नेछ ।

श्रीलंकाविरुद्ध एकतर्फी जित निकाल्न भारतका लागि दाङमेई ग्रेस, सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान, संगिता बास्फोरे र रतन बाला देवीले एक एक गोल गरिन् ।

भारतले पहिलो हाफमै ४ गोल गरेको थियो । पहिलो हाफको तेस्रो मिनेटमै सन्ध्या रंगनाथनको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।खेलको सातौं मिनेटमा सन्जु यादवको पासमा सन्ध्याले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् ।

खेलको ३६ औं मिनेटमा इन्दुमतिले गोल गर्दा भारत ३–० ले अघि रह्यो । खेलको ४५ औं मिनेटमा संगिताले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा भारतलाई ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा भारतले एक गोल थप्यो । खेलको ४७ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ५० को जित निकाल्यो ।

सेमिफाइनल अब ६ गते हुनेछ ।  पहिलो खेलमा नेपालले श्रीलंकासंग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा तिन बजे भारतले बंगलादेशसंग खेल्नेछ ।