सिके राउतको आफ्नै सुरक्षा दस्ता !

मूलधारको राजनीतिमा प्रदेश गरेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषदको बैठक शुरु भएको छ । पहिलो पटक सार्वजनिकस्थलमा कडा सुरक्षाबीच बैठक शुरु भएको हो । 

सिरहाको लहान नगरपालिका–७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु भएको बैठकको शुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको छ । राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी..’ बजाइएपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्व. राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।

मधेसका २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिए । बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो । 

सरकारसँग ११ बुँदे सहमतिपछि पहिलो पटक परिषदको बैठक बस्न लागेको र यस वैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए ।

एक स्वयंसेवकका अनुसार वैठकस्थलमै नास्तादेखि भोजनसम्मको प्रबन्ध गरिएको छ । वैठकस्थलको मूल गेटबाटै गठबन्धनको आन्तरिक सुरक्षा दस्ताले वैठकस्थलमा कडाइ गरेको छ । प्रहरीले भने मारवाडी सेवा सदनको मुल गेट नजिकै सडकमा उभिएर सुरक्षा दिइरहेको छ । बैठकस्थलभित्र प्रहरी समेतलाई प्रवेश दिइएको छैन । 

यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बहस भइरहेको स्रोतले जनाएको छ । बैठक भोली सम्म चल्ने आयोजकले जनाएको छ । बैठक शुरु भएसँगै संयोजक राउतले आफ्नो फेसबुक पेजबाट केही बैठकका तस्विरहरु सार्वजनिक गरेका छन् । राउत सरकारसाग ११ बुंदे सहमति गर्दै खुल्ला राजनीतिमा आएका हुन्