धादिङ-पोखरा जनसम्पर्क मञ्चमा आर्थिक अनियमितता !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चमाथि गम्भीर आर्थिक आरोप लगाइएको छ । हालै गठन भएको गोकर्ण अधिकारी नेतृत्वको नेकपा धादिङ–कास्की जनसम्पर्क मञ्चले आरोप लगाएको छ । मञ्चले लगाएका मुख्य आरोपमा आर्थिक अपचलन रहेको छ ।

मञ्चले २ संगठनबीच एकता गर्दाको हरहिसाव दुरुस्त सार्वजनिक गर्न समेत चुनौती दिएको छ ।
‘एउटा सामान्य कार्यक्रम गरेर लाखौं खर्च गर्ने तर हरहिसावबारे छलफल, सार्वजनिक नगर्ने र लेखापरीक्षण पनि नगर्नु गम्भीर विषय हो’, मञ्चका संयोजक गोकर्ण अधिकारी र सचिव युगमराज अगस्तीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

साथै संगठन भित्रको विकृति, विसंगति अन्त्य गर्नका लागि पार्टी कमिटीले पटक–पटक दिएको निर्देशन अवज्ञा गरेको, कार्यसमिति बाहेककालाई संगठनको सदस्यता नबनाएको, संगठनलाई पार्टीको कुनै पनि निकयमा नजोडेको, संगठनको बैठक बस्नै नसक्ने अवस्थामा पुगेको, संगठन विस्तारमा ध्यान नदिएको, भाग पुर्याउन भएभरका सबैलाई कार्यसमितिमा राखेर संगठन भद्रगोल बनाएको लगायतका आरोप पत्रमा उल्लेख छ ।

‘विधान र नियमावली बनाउन जिल्ला पार्टी कमिटी धादिङले दिएको निर्देशनलाई महिनौंसम्म अवज्ञा गरेकाले आफूहरूले पार्टीकै निर्देशनमा संगठन पुनःगर्ठन गरेका हौं’, संयोजक अधिकारीले भने, ‘यो हाम्रो समानान्तर कमिटी नभइ आधिकारिक संगठन हो । यसले विधान र नियमावली बनाएर सबै साथीहरूलाई गोलवन्द गर्छ ।’

उनले आफूहरूले संगठन र नेकपाप्रति आस्थावान साथीहरूलाई निराश नबनाउन संगठन पुनर्गठन गर्नुपरेको स्पष्ट पारे । उनले भने, ‘धेरै समय कुरेर बस्यौं । अन्य साथीहरू यस कार्यमा अग्रसर हुनुहुन्छ कि भन्ने लागेको थियो । तर केही पनि अघि बढ्नुभएन । हामीहरूनै अघि बढ्यौं ।’
मञ्चका सचिव युगमराज अगस्तीले नेकपा धादिङ–पोखरा जनसम्पर्क मञ्चले आफूहरूलाई कार्वाही गरिएको भनेर हल्ला फिँजाउनु हाँस्यास्पद भएको टिप्पणी गरे ।

प्रश्न गर्दै उनले भने, ‘हामी त्यो नामको संगठनको सदस्य नै होइनौं । अनि हामीलाई के को कार्वाही ?’ कार्वाहीको कपोलकल्पित हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चका सचिव कृष्ण धरेलले उनीहरूले लगाएको आरोप सरासर झुट भएको दावी गरेका छन् । मञ्चले लगाएको आरोपमा प्रतिक्रिया माग्दा उनले भने, ‘यो सरासर गलत आरोप हो । आरोप पुष्टि भए आफूहरू जस्तोसुकै सजायँ भोग्न पनि तयार छौं ।’

‘उनीहरूले गलत आरोप र अर्थ लगाएर संगठन विगार्न खोजेको र त्यसमा सफल नभएपछि निस्किएर हिंडेका हुन्’ उनले भने । उनीहरूलाई कार्वाही गरिसकेको र जिल्ला पार्टी कमिटीहरुलाई जानकारी गराइसकेकाले यस विषयमा धेरै बहस गर्न जरुरी नभएको उनले बताए ।