पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि मेयर जिसी नै !

पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि पोखरा महानगरका मेयर मानबहादुर जिसी नै हुने भएका छन् ।

नेपालका सबै नगर विकास समितिको गठन ब्यवस्था फेरिएसंगै उनी नगर विकास समितिको अध्यक्ष बन्ने बाटो खुलेको हो ।

यसअघि राजनीतिक नियुक्तिमा बन्दै आएको समितिमा केही फेरवदल गरिएको हो । अबदेखि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष बन्ने व्यवस्था भएको छ ।

समितिको सदस्यमा जिल्ला समन्वय समितिले तोकेको १ जना सदस्य, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको १ जना अधिकृत, वन, भूमि तथा नापी सम्बन्धी स्थानीय तह वा जिल्लास्थित प्रतिनिधि, नगर कार्यपालिका वा गाउँ कार्यपालिकाबाट तोकिएका ३ सदस्य, स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्ने १ महिलासहित २ जना र समितिको सदस्य सचिवको रुपमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने ब्यवस्था गरिएको छ ।

नगर विकास ऐन २०४५ लाई संशोधन गर्दै प्रत्येक स्थानीय तहमा आवश्यक्ता अनुसार नगर विकास समिति गठन गर्न सकिने ब्यवस्था मिलाईएको छ । समितिले नगरको विकासका लागि आफ्नो बेग्लै खाका तयार गर्न सक्ने बताइन्छ ।