पोखरा-१९, पुरुञ्चौरस्थित कृषि प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल कालिकाबहादुर अधिकारीलाई हटाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । प्रिन्सिपल अधिकारीले कलेजमा राम्रो काम गर्दा गर्दै हटाउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
अधिकारी कृषि प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुञ्चौरका निमित्त प्रिन्सिपल हुन् । शुक्रबार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको कार्यकारिणी परिषद बैठकले प्रिन्सिपल अधिकारीलाई हटाउन लागेको हल्ला चलेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् । रातारात हटाउन लागेकाले आन्दोलनमा उत्रिनु परेको आन्दोलन समितिका संयोजक टेकनाथ गौतमले बताए ।
उनले प्रिन्सिपल अधिकारीलाई यथावत राख्नका लागि आफूहरू डेलिगेसन जान लागेको बताए । रजिस्ट्रार र भिसीलाई भेटेर अधिकारीको सरुवा रोक्ने उनको भनाई छ । उनले भने, ‘रजिस्टार र भिसीले बिहान १० बजेको समय दिनुभएको छ, हामी त्यहाँ गएर आफ्ना कुरा राख्छौं ।’
स्थानीयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेताको दवाबमा अधिकारीलाई हटाउन लागेको आरोप लगाएका छन् । क्याम्पसको विभिन्न कार्यमा नेकपाका नेताहरूले भने अनुसार अधिकारीले काम नगरेपछि हटाउन लागेको स्रोतको भनाई छ ।
प्रिन्सिपल अधिकारीले कलेजको विभिन्न निर्णयमा आफूले लगातार नोट अफ डिसेन्ट लेखेकै कारण नेकपाका स्थानीय नेताले हटाउन लागेको आरोप लगाए ।
अधिकारीका अनुसार प्रिन्सिपलको अध्यक्षतामा भवन निर्माण समिति बनाउनुपर्ने हुन्छ । आफ्नो अध्यक्षतामा समिति गठन भएको १४ महिनापछि आफूलाई सदस्यमा राखेर नयाँ कमिटी गठन गरेपछि आफूले त्यसपछिका सबै निर्णयमा नोट अफ डिसेन्ट लेख्दै आएको उनले बताए ।
दबाबका कारण आफूलाई हटाउने निर्णय रोकिएको दावी गर्दै उनले भने, ‘शिक्षकले धर्ना दिएकाले मात्रै शुक्रबार मेरो सरुवा रोकिएको हो, नत्र शुक्रबारै निर्णय हुन्थ्यो ।’
तर कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका रजिस्ट्रार मनराज कुलाक्षपतिले अधिकारीलाई हटाउने प्रस्ताव नै नआएको दाबी गरे ।
रजिस्ट्रार कलाक्षपतिले प्रिन्सिपल अधिकारी अर्को व्यवस्था नभएसम्मका लागि भएकाले कुनै पनि बेला भने हट्न सक्ने बताए । उनले आवधिक नियुक्तिमा अधिकारी नै प्रिन्सिपल हुन पनि सक्ने र अरु कोही भएर अधिकारी हट्न पनि सक्ने सम्भावना रहने बताए ।






