गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले सबै उपलब्धि पाएकाले अब युद्धको अर्थ नरहेको बताएका छन् । अब राजनीतिक एजेन्डाका लागि हतियार उठाउन जरुरी नरहेकोमा जोड दिँदै उनले हतियारको राजनीति त्यागेर समृद्धिको यात्रामा सहभागी हुन आग्रह गरे ।
नेकपा गण्डकी प्रदेश इन्चार्जसमेत रहेका उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपातिर संकेत गर्दै भने, ‘राजनैतिक अधिकारका लागि लडाईं गर्न पाउनु स्वभाविक हो, तर लडाईं केका लागि गर्ने, किन युद्ध गर्ने, किन आन्दोलन गर्ने ?’, गणतन्त्रसहित संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्रसमेत स्थापना भएपछि युद्धको औचित्य नरहेकोमा उनको जोड छ ।नेकपा गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
वार्तामा बोलाउदासमेत चासो नदिई धम्क्याउने, चन्दा असुली गर्ने, उच्च नेतासम्मको ज्यान मार्ने लिस्ट बनाउने विरुद्ध सरकारले कडा कदम चाल्ने गुरुङको भनाइ छ । उनी पार्टीको जिल्ला संयन्त्र बैठकका लागि गोरखा आएका हुन् ।




