सरकारले वार्ताका लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव समूहले स्वागत गरेको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान ढिलो भए पनि स्वागतयोग्य भएको बताए ।
आफूहरूलाई प्रतिबन्ध लगाएर सरकारले जबर्जस्ती युद्धमा धकेल्न खोजेको उनको आरोप छ । सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता लिएर वार्ताका लागि औपचारिक पत्र पठाए त्यसका लागि आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।
तर त्यसका लागि सरकारले इमान्दार बनेर वार्ताको वातावरण तयार पार्नुपर्ने उनले उल्लेख गरे । तर प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वानले सरकारको द्वैध चरित्र देखिएको उनको भनाइ छ ।
बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताएका थिए ।






