आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै सुखद् शुरुआत गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म २ गोल र मध्यान्तरपछि थप १ गोल गरेको हो ।
खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन ।
सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् ।
उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् ।
खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् । खेलअवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो ।
एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।
भुटानी प्रशिक्षकको प्रश्न !
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भुटान आयोजक नेपालसँग ३–० ले पराजित भयो । खेलपछि भुटानी प्रशिक्षक सुङ जियालीले प्रतियोगिताको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

उनले भनेका छन्, ‘हामी बस्ने होटल राम्रो भएन । होटल खोज्दै दिन गयो ।’ भुटानको टिम काठमाडौंबाट आइतबार विहान विराटनगर पुगेको थियो । भुटानी टोलीका लागि आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा०ले स्ट्रन स्टार होटल बुक गरेको थियो । पहिलो दिन टोली त्यही बस्यो ।
भोलिपल्ट होटल नराम्रो भएको नयाँ खोजीमा हिँड्यो । बेलुका ५ बजेतिर स्ट्रनबाट सरेर ह्यारिसन होटलमा बस्यो । बस्ने व्यवस्थाको राम्रो नभएका कारण भुटानी टिमले सोमबार अभ्यास गरेन ।
मंगलबार नेपालसँग व्यहोरेको हारलाई प्रशिक्षक सुङले व्यवस्थापनमा भोग्नु परेको कठिनाईसँग जोडे ।
यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन लज्जास्पद भएको उनको दाबी छ । उनले भने, मेरो लामो प्रशिक्षण करिअरमा अहिलेस्म्म यस्तो अवस्थाबाट गुज्रिनु परेको थिएन । हामीले अभ्यासमा जोड दिन पाएनौं । यस्तो किसिमको व्यवस्थाले खेलाडीमा नकारात्मक असर परेको छ ।




