लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं महाधिवेशन पोखरामा हुँदैछ । आगामी २०७६ वैशाख १३ र १४ गते हुने महाधिवेशनले नयाँ गभर्नरसहित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गर्नेछ ।

महाधिवेशन हुन अझै ४५ दिन बाँकी छ तर पोखरामा महाधिवेशनको रौनक बढिसकेको छ ।
महाधिवेशन मा विशेषगरी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरको विशेष चर्चा छ ।
यस महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर हुने व्यक्ति अबको २ वर्षपछिको स्वतः गभर्नर हुनेछ । त्यसैका कारण प्रत्येक महाधिवेशनमा यो पद निकै चर्चामा रहने गर्दछ ।
यस पटक सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य र ध्रुव श्रेष्ठले उम्मेदवारी मनोनयन गराएका छन् । उनीहरू दुवै चुनावी मैदानमा खटिइसकेका छन् । उम्मेदवार आचार्य र श्रेष्ठ दुवै पोखराको भएकाले पनि निकै चासोको रुपमा हेरिएको छ ।
लायन्सलाई अघि बढाउन यी दुवै व्यक्ति अपरिहार्य भएको भन्दै केही लायन्स अगुवा तथा केही पूर्व गभर्नरहरू सकभर मिलेर सहमतिमा जानुपर्ने पक्षमा छन् भने केही पक्ष र विपक्षमा खुलेर लागेका छन् । केही पूर्व गभर्नर भने तटस्थ बस्ने मनस्थितिमा छन् ।

सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले सोमबार मात्र आफ्नो उम्मेदवारी मनोनयन गराए भने आचार्यले केही दिन अघि नै उम्मेदवारी मनोनयन गराएर चुनावी मैदानमा खटिइसकेका छन् ।
आचार्य पोखराकै ध्रुव थापा गभर्नर हुँदा क्याविनेट सेक्रेटरी भएर काम गरेका थिए । उनले आफ्नो घोषणापत्र लिएर छलफलमा सक्रिय छन् ।
महाधिवेशनमा वर्तमान फष्ट भाइस गभर्नर ईन्दु लम्सालले गभर्नर पदका लागि र वर्तमान सेकेन्ड भाइस डिष्ट्रिट गभर्नर मनबहादुर रोकाले फस्ट भाइस डिष्ट्रिट गर्भनरका लागि ‘यस’ मत लिनुपर्नेछ ।
लायन्स यात्रालाई सफल अवतरण गराउँछु : आचार्य
पोखराका सफल शिक्षाविद् र सधैं नवीनतम् सोंच राख्ने आचार्यले महाधिवेशनमा चुनावी प्रतिस्पर्धा भन्दा सहमति अनुसार अघि बढ्न चाहेको बताएका छन् ।
उनले आफ्नो २० वर्षको अनवरत लायन्स यात्रालाई अझै सभ्य र परिस्कृत ढंगले अघि बढाउन चाहेको र यात्रालाई सफलतापूर्वक अवतरण गराउने स्पष्ट पारे ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पूर्व अध्यक्ष समेत रहेका उनले भने, ‘सबैको साथ, सल्लाह, सुझावलाई शिरोधार्य गर्दै सबैलाई समेटेर अघि बढ्नेछु । लायन्सको गरिमालाई थप मर्यादित बनाउँदै नयाँ उचाइमा पुर्याउने प्रण गर्दछु । यसमा सबैको साथको अपेक्षा गरेको छु ।
शिक्षा, सामाजिक र व्यवसायिक क्षेत्रको सफल अनुभवलाई समेत लायन्समा प्रयोग गर्ने उनले बताए । लायन्समा विगतको राम्रा कामलाई निरन्तरता, लायनवादको विकास र विस्तारलाई अझै नयाँ उचाइमा पुर्याउने उम्मेदवार आचार्यको प्रण छ ।
‘नेपालको गरिवी न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाएर सरकार तथा अन्य दातृ निकायसंग सहकार्य गर्ने, सीप नभएकालाई सीप दिने र सीप भएकालाई रोजगारी र उद्यमी बनाउने मेरो उद्देश्य छ’, उनले भने, ‘सबै लायनमा लायन्सको गौरव अनुभूति गराउने खालका प्रचारका भन्दा गुणस्तरीय कार्यक्रम सञ्चालनमा जोड दिनेछु ।’
आफ्नो कार्यकालमा डिष्ट्रिक्टका सबै गतिविधि एवं आर्थिक क्रियाकलाप पारदर्शी बनाउने उम्मेदवार आचार्यको प्रतिवद्धता छ ।
धैर्यता र अनुभवलाई कायम राख्छु : श्रेष्ठ
अर्का उम्मेदवार ध्रुव श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष समेत हुन् । उनले लायन्समा ४२ वर्षको धैर्यता र अनुभवलाई कायम राख्दै र नेतृत्व क्षमतालाई विकास गर्दै परिपक्व लायनको रुपमा उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।

उनले आफू सेवाको भावनामा सन्तुष्ट रहेको भन्दै लायन्समा महिला सहभागिता बढाउन पहल गर्ने बताए । श्रेष्ठले आफूले उम्मेदवारी दिए पनि सहमति र सहकार्यसँगै अघिी बढ्ने र एकता राख्ने कायम राख्ने विश्वास व्यक्त गरे ।




