अनेरास्ववियू कास्कीले दिवंगत अनेरास्ववियू पूर्व केन्द्रीय अध्यक्ष तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्यो ।
पृथ्वीनारायण क्याम्पसस्थित भानु पार्कमा आयोजना गरिएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले रवीन्द्र अधिकारीले शुरुआत गरेका कामलाई सम्पन्न गर्दै समृद्ध नेपालको अभियानमा अघि बढ्नु पर्ने धारणा राखे । उनले भरतमोहन अधिकारीलाई सफल अर्थमन्त्रीको रुपमा गरेका कामको स्मरण गर्दै कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास र भरोसा बढाउने लोकप्रिय योजनाकारको रुपमा सम्झिए ।
नेकपा केन्द्रीय सदस्य राजकाजी गुरूङले कस्केली जनताले रवीन्द्र अधिकारीको अभावको महसूस सदैव गर्ने बताए । गुरूङले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीका कामले गर्दा भौतीक शरिर नभएता पनि जनताको सम्झना सदैव जीवत रहने बताए ।
पूर्व स्ववियु सभापति तथा प्रदेशसभा सदस्य राजीव पहारीले व्यक्ति कुन पदमा रह्यो भन्ने भन्दा पनि कस्तो काम गर्यो भन्ने कुरा महत्वपूर्ण रहने धारणा राखे । ‘व्यक्ति कुन पदमा रह्यो भन्नेले अर्थ राख्दैन कर्म कस्तो गर्यो त्यसले अर्थ राख्छ रवीन्द्र र भरतमोहनलाई नेपाली जनतालले सदैव सम्झिरहनेछन्’, उनले भने ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन पूर्व सचिव तथा नेकपा कास्कीका सदस्य दिलिप न्यौपाने, अनेरास्ववियूका नेता आशिर्वाद सुवेदी , क्षितिज सापकोटा, अमरदीप पराजुली लगायत सहभागी थिए ।
विवेक देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्णराज दाहालले गरेका थिए ।






