हाय ! वडाध्यक्ष !

गायत्री पराजुली

२० वर्षको अन्तरालमा २०७३ सालको वैशाख ३० सम्पन्न स्थानीय चुनावको नतिजाले तत्कालिन पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा नेताहरूको कृपाले र आफ्नो आर्थिक दक्षताका कारणले वडाध्यक्षको टिकट प्राप्त गर्न सफल भई निर्वाचित भए । जुन जुन पार्टीबाट जो–जो उमेदवारले जितेर वडाध्यक्ष बने पनि २/४ जना वडाध्यक्षको अपवाद बाहेक अरु सबै वडाध्यक्षमा एउटै आचरण पाइयो । सबै वडाध्यक्षसँग भेटघाट र व्यवहारमा सरिक हुन नपाए तापनि जन आवाजले संकेत गरे अनुसार निम्न आचरण र व्यवहार महसूस भयो ।

जब वडाध्यक्षमा मनोनित भए, तब त उनीहरूको अहम् बढेर तिनै झुकेर, ढोगेर भोट माग्न गएका वडाका आफ्नै पार्टीका सदस्यहरूसँग बोल्न पनि गाह्रो मान्ने, मान–सम्मान खोज्ने, देखे पनि नदेखे झैँ गरेर हिड्ने जस्ता व्यवहार देखाउन सुरु गरे । त्यसपछि उनीहरूको काम कहाँ अप्ठ्यारो परेको, अवरोध आइ लागेको त्यसमा ध्यान दिन सुरु गरे । तर समस्या सुल्झाउन हैन कि कसरी, के गरेर पैसा झार्न सकिन्छ भन्ने सोचेर । उनीहरूको दिमागले अब आफू राजा नभएको देशको ‘राजा’ भएजस्तो महसुस गर्न थाल्यो तर सोचेनन् कि आफूलाई राजा मान्दा राजाको कुन व्यवहार र आचरणले गर्दा राजाको अहिलेको स्थिति कस्तो रहेको छ भन्ने ।

उनीहरूमा यतिसम्म घमन्ड चढ्यो कि आफू जनप्रनिनिधि भएको र वडाबासी जनताले भोट दिएको सबै बिर्सेर आफै महान् बुद्धिजीवि भन्दै अरुलाई भारे–भुरेमा गणना गर्न लागे । अब उनीहरूको सोचाइमा आफूजस्तो महान् व्यक्तिले कसैको कुरा सुन्नुहुँदैन भन्ने लाग्यो । आफ्नो काम कर्तव्य त जन आवाज सुन्ने होइन कि मेयर सावलाई खुशी पार्ने, जुनसुकै पार्टीको भए पनि नाता लगाएर वा अनेक तिकडम गरेर मेयर कै मान्छे बनेर, वडामा बजेट पारेर ठूलो मान्छे कहलाउने भन्ने रह्यो । जब वडाका लागि बजेट निकासा हुन्छ तब फेरि त्यहीँ वडाबासीलाई मैले गर्दा यति धेरै बजेट निकास गर्न सकेको भन्दै धाक देखाउने, अनि वडाको जुन टोलमा काम गर्नुपर्ने हुन्छ त्यहीँ टोलका २/४ जना आफ्ना पक्षका व्यक्तिलाई आड लिएर विकासका काममा झारा टार्ने गर्छन् ।

जहाँ कि वडा सदस्यलाई पनि कति बजेट निकासा भयो, कहाँ–कहाँ कति खर्च हुँदैछ, के–के काम बन्दैछ भन्ने कुराको केही जानकारी नगराई वडा सदस्यहरूलाई अन्योलमा पारी वडा अध्यक्ष शासक बनेको पाइयो । हामी वडाबासीको सोचाइमा त टोल–टोलका हरेक काममा सहयोग पुग्छ होला भन्ने लागेको थियो तर हाम्रो आशा र सोचाइ विपरित वडाध्यक्ष बनेका वडाको जनप्रतिनिधिबाट पाइएको व्यवहार व्यहोर्नु परेको एउटा घटना पनि लेख्न बाध्य भएँ ।

म नितान्त वडाको, वडाबासीका केटाकेटीहरूको सुरक्षा र भलाईका लागि आवश्यक एक सामाजिक काम लिएर वडाध्यक्षसँग फोनमा समय मागेर भेट्न गएँ । जब वडाध्यक्ष बसेर चिया पिइरहेको ठाउँमा पुगे, तब नमस्ते दाइ भन्दै उहाँकै वडामा उहाँकै वडाबासीका लागि परेको अप्ठ्यारो र खतराको बारेमा जानकारी गराउँदै त्यहाँको सहयोग पाएमा राम्रो हुन्थ्यो भन्दै प्रस्ताव राखे । मैले वडाध्यक्षसँग अनुरोध गरेको काममा मेरो केही स्वार्थ र मलाई फाइदा हुने केही कुरा पनि थिएन । थियो त केवल उहाँकै वडाबासीका लागि सुरक्षाका कुरा । जुन म बस्ने वडा पनि होइन ।

म वडाध्यक्ष सहित २/४ जना चिया पिउँदै गरेको ठाउँमा पुगेर नमस्ते भन्दा उहाँले मुस्किलले नमस्ते फर्काउनुभयो । त्यसपछि मैले उहाँको वडाका बाबुनानीहरूलाई स्कुल आउने जाने बाटोमा जेब्राक्रसिङ नभएर खतरा बढेको हुनाले जेब्राक्रसिङ राख्नुपर्ने ठाउँ बताउँदै कुरा राखे । त्यो कुरा सुन्नासाथ वडाध्यक्षज्यूले जेब्राक्रसिङका लागि बजेट छैन । मैले गर्न सक्दिन’ भनेर ठाडो जवाफ दिनुभयो । अनि मैले बाटो बनाउने विकासका योजना आदिका लागि वडामा आएको बजेटले बनाउन मिल्दैन र दाई ? भन्ने प्रश्न राखे ।

खै ! अहिले छैन भन्दै मुन्टो बटार्नु भयो र तिनै चिया पिउने साथीहरूसँग अरु कुरा गर्न थाल्नुभयो । जहाँ कि म उभिइराखेकी थिएँ । बस्नु न भन्न पनि उहाँलाई गाह्रो भयो । आफूहरू चिया पिउँदै हुनुहुन्थ्यो, चिया पिउनुहुन्छ ? कि भन्न पनि उहाँलाई मन लागेन । यस्तो कुरा मैले मेरो मान गरेनन् र मैले चिया पिउन नपाएर उल्लेख गर्नु परेको नभई जनप्रतिनिधिको संस्कार देखेर लेख्न मन लागेको मात्रै हो । त्यसपछि म अलि समय ठिङ्ग उभिएर केही उत्तर आउँछ कि भनेर कुरिरहे, तर अलिक समयसम्म मेरो उभ्याइप्रति ध्यान नदिएपछि म ‘गएँ दाइ’ भन्दै हिडेँ । मैले गए दाइ भने पनि उहाँले सुनेको नसून्यै गरी केही मतलब राख्नुभएन ।

यस्तो व्यवहार देखेर मेरो मनमा कुरा खेल्न थाल्यो कि करौडौँ करोड विकासको बजेट पाउने वडाले आफ्नै वडाका बाटामा आवश्यक परेको जेब्राक्रसिङ बनाउन २०/२५ हजार बजेट नहुने, नपुग्ने सुनेर म यसै यसै मन अमिलो पारेर फर्कन बाध्य भएँ । सरल व्यवहार कमजोरी नभई संस्कार हो भन्ने नबुझेका हाय ! हाम्रा वडाध्यक्षज्यू !
(लेखक पराजुली नेपाली कांग्रेसकी नेतृ हुनुहुन्छ । उहाँको यो स्वतन्त्र अभिव्यक्ति हो ।)