युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद स्वास्थ्यका लागि खेलकुद मात्रै नभई पेशा व्यवसाय र उद्योगको रुपमा हेरिनुपर्ने बताएका छन् । ठुला देशहरुले खेलकुदलाई उद्योगको रुपमा अबलम्बन गरेको भन्दै उनले त्यही उद्योगले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिएको स्पष्ट पारे ।
‘खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । त्यसको लागि आवश्यक पुर्वाधार तर्फ सरकारले ध्यान दिएको छ ।’ उनले भने–‘उद्योगको रुपमा विकास भए पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने छ ।’ उनले विश्वमा खेलकुदलाई पर्यटन उद्योगसँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई टुरिज्म स्पोर्टसको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले खेलाडी र खेल क्षेत्रको विकास नभएसम्म समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । उनले खेलाडीको सेवा सुविधा र आवश्यक पुर्वाधार निर्माणसँगै खेल पर्यटनको माध्यमबाट समृद्धिको आधार तय हुने स्पष्ट पारे ।
शनिबार पोखरा आईपुगेका मन्त्री विकले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन सम्बोधन गर्दै खेल क्षेत्रको समृद्धि पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै खेल क्षेत्रको समृद्धि विना देशले चाहे जस्तो समृद्धि हुन नसक्ने दावी गरे । ‘खेल क्षेत्रको समृद्धिको परिकल्पना गरेका छौं । खेलाडीको सेवा र सुविधा मात्रै नभई पुर्वाधारको लागि सरकारले प्राथमिकता दिएको छ । खेल क्षेत्रमा आएको समृद्धिले मात्रै देशको समृद्धिको परिकल्पना गर्न सकिन्छ ।’ उनले भने–‘नत्र हामीले चाहे जस्तो समृद्धि हुनै सक्दैन् ।’
मन्त्री विकले जबसम्म खेलाडीको भविष्य सुनश्चित हुदैन तबसम्म खेल क्षेत्रको समृद्धिको परिकल्पना गर्न नसकिने ठोकुवा गरे । उनले खेलाडीलाई खेल क्षेत्रमा आकर्षित गर्नुपर्ने भन्दै खेलाडी खेलप्रति आकर्षित नहुदाँ नयाँ पुस्ताका खेलाडी खेलक्षेत्रमै आउन नसक्ने स्पष्ट पारे । ‘खेलाडीको भविष्यको सुनिश्चितता हुनुपर्छ । भविष्य सुनिश्चित नहुदाँ खेलाडी आकर्षित हुदैनन् ।’ मन्त्री विकले भने–‘आकर्षक नगर्दासम्म नयाँ पुस्ताका खेलाडी आकर्षित गर्न सकिदैन् ।’
खेलाडी पुर्वाधारको अभावमा खेल्नुपरेको पीडा छ । सेवा र सुविधा विहीन अवस्थामा खेलमा समर्पित हुने गरेका छन् । सातैवटा प्रदेश र ७५३ वटै स्थानीय तहमा एक खेल ग्राम निर्माण गर्ने सरकारले कार्यविधी पारित गरिसकेको उल्लेख गर्दै मन्त्री विकले थपे–‘सबै क्षेत्रमा पुर्वाधारपछि खेलाडीले पुर्वाधार अभावमा भोगिरहेको समस्या समाधान हुने छ ।’ उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत मसान्तमा उदघाटन गर्ने जानकारी दिदैं खेल क्षेत्रले चुनौति र समस्यामा परेको भन्दै पुर्वाधार र संरचनाको अभावको अन्त्य हुने विश्वास दिलाए ।
प्रदेशस्तरीय छनोटमा विजेता विभिन्न खेलका खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो । स्क्वास तर्फ प्रदेशबाट अमृत थापा, सन्तोष घिमिरे , काशिराम भण्डारी र रक्षा लामा छनोट भएका छन् । त्यसैगरी महिला तर्फ कृष्ण थापा, अग्नेश लामा, शालिनी घिमिरे र आशुका रन्जित छनोट भएका छन् ।
फुल कन्ट्याक्ट कराँते पुरुष तर्फ ४५ केजीमा मदन थापा(कास्की), ५० केजीमा रोमन सिञ्जाली(कास्की), ५५ केजी तौल समुहमा जीवन गुरुङ(कास्की), ६० केजी तर्फ युसन थापामगर(कास्की), ६५ केजी तौलमा गोविन्द रोका(बागलुङ) र खुल्ला तर्फमा रुपक नेपाली(कास्की) छनोट भएका छन् । महिला तर्फ ४५ केजीमा सरगम कुमाल कास्की, ५० केजी युनिका शेरचन म्याग्दी, ५५ केजी क्रिज्मा कुँवर बागलुङ, महिला खुला तौलमा सुष्मी श्रेष्ठ कास्की छनोट भएको मार्शल आर्ट छनोट समितिका संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।
kheladinews.com




