भाषाबारे मेरो धारणा र आग्रह

१: तराई सबै कुराले समृद्ध छ तर त्यहॉ शिक्षाको गुणस्तर कमजोर छ जसका कारण भेदभावको बिरूवा हुर्कन बल मिलेको छ । शिक्षामा भाषा झन् कमजोर छ । अंग्रेजी र नेपाली भाषा कमजोर भएपछि जिवनमा धेरै हण्डर खान पर्ने हुन्छ । भाषा नै कमजोर भए पछि जुन क्षेत्रमा लागे पनि प्रतिभा प्रष्फुटन हुन कठीन हुन्छ । नेपालका लगभग सबै भाषाको जननीभाषा विश्वकै समृद्ध संस्कृत भाषा हो । तर अहिले यो जग पूरा मक्किएर नेपालीहरूको न नेपाली न हिन्दी , न स्थानीय भाषा मजबूत देखिन्छ । जग बलियो वनाउन वलियो भाषाको टेवा चाहिन्छ । अंग्रेजी भाषा पनि सिकेकै भाषा हो, नेपालीमा यो पनि कमजोर नै छ । भाषाका कारण नेपालीले आफ्नो प्रतिभा र क्षमताको पूर्ण प्रष्फुटन गर्न नसकेको अहिले देखिदै छ ।

यसको समाधान समृद्ध भाषा संस्कृतको जग पुन: हाल्न सुरू गर्नुपर्दछ । संस्कृतको तुलना संसारमा अरू कुनै भाषासंग गर्न नसकिने गरी समृद्ध छ जो हाम्रो संस्कार र संस्कृतिमा स्वत: व्याप्त छ । पुनर्रोत्थान गरेर हाम्रा सबै भाषालाई झन् समृद्ध वनाउन सकिन्छ ! भाषाले समाज र जिवनलाई समृद्ध वनाउछ । मातृभाषा, सरकारी भाषा, अन्तर्राष्ट्रिय भाषा र प्राचीन भाषामा हामी शिक्षित सबै पोक्त हुन जरूरी छ ।भाषा प्रभावकारी भएन भने पेशा पनि त्यति प्रभावकारी नहुन सक्छ । मानवजातिको सृष्टिमा ठूलो प्रभाव हुनु भाषाका कारण पनि हो ।

भाषा बारे मेरो धारणा र अनुभव-२:

हिन्दी भाषा साहित्य मलाई खुब मन पर्छ, माया गर्छु, पढ्छु, लेख्ने पनि गर्छु । तर मेरो मुलुकको भाषाको जव सवाल आउछ, नेपाली भाषाको विकल्प अरू कुनै भाषा हुन सक्दैन । हिन्दी लगभग विश्व भाषा हो, यसलाई अरूले जगेर्ना गर्नै पर्दैन जसरी अंग्रेजी भाषा छ। भारतको संविधानको सूचिमा संस्कृत, हिन्दी, नेपाली राष्ट्रिय भाषामा समावेश छन् । अंग्रेजी पाकिस्तान र भारतको सरकारी कामकाजको भाषा हो । भारतको मूल संविधान अंग्रेजीमा छ, अरू सबै अनुवाद हुन् । नेपालको मूल संविधान जहिले पनि नेपाली भाषामा रहदै आएको छ । नेपालको सरकारी कामकाजको भाषा नेपाली हो । नेपालमा प्रदेश विभाजन भारतमा जस्तो पहिचान वा भाषाका आधारमा भएको छैन । त्यसैले सबै प्रदेश स्वभावले बहुभाषिक छन् । बहुभाषिक प्रदेशमा भाषाप्रति सबै सचेत र चनाखो हुनुपर्छ । यसलाई समस्या वनाउन पुगियो भने नारकीय समाज जन्मन लाग्यो भनेर बुझे हुन्छ ।

मातृभाषा र कामकाजी भाषा फरक हुन् किनभने आमाको जीब्रोबाट सिकेको भाषा मातृ हो भने समाजमा बोलिचाली गर्ने कामकाज गरिने चलनचल्तिको भाषा सरकारी हो जो सबै भाषीहरूको सम्पर्क भाषा हुन्छ, जसलाई पढेर शिक्षा लिएर सिक्नुपर्छ । सबै भाषा सिक्ने अवसर सबैलाई सहज व्यवस्था हुनुपर्छ, जसलाई जे चाहना छ सिकून् र आनन्द लिउन् । जति धेरै भाषा जान्यो त्यति समृद्ध भईन्छ र जिवन रमाईलो हुन्छ । भाषाहरू खानाका व्यन्जन जस्ता हुन्, परिकारको स्वाद लिनुपर्छ । २,३ वटा भाषा जानिसके पछि थप जति वटा पनि भाषा सजिलै सिकिन्छ । म ३ महिना जापान वस्दा जापानी भाषा मजाले बोल्न सिकिसकेको थिए, तर नेपाल फर्केपछि बोल्न परेन , सबै विर्सेको जस्तो भएको छु ।

बढी भन्दा बढी भाषा सिकौं र समाजमा रमाईलोसंग रहौं , भाषा मानव सम्पदा हो ,यसको विरोध गर्ने कामै छैन । नेपालमा नेपाली भाषाको विरोध गरेर अरू कुनै भाषाको हित हुने छैन । नेपालीहरू विश्वका करिव १७५ देशमा छरिईसकेका छन्, तिनलाई नेपाली भाषाले नै त्यहॉ परिचय दिएको हुन्छ । नेपाली भाषा नेपालभित्र वस्ने नेपालीहरूको कुरा मात्र अब रहेन ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।