संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिने छ।
अरब जगतको यो ब्यस्त व्यापारिक केन्द्रमा ब्याण्ड दोश्रोपटक पुग्न लागेको हो। यसभन्दा पहिले मुलुकले कठिन परिस्थिती बेहोरिरहेको क्षणमा पूर्वनिर्धारित कार्यक्रमको बाध्यताले नेपथ्य त्यहाँ पुग्नु परेको थियो।
भुइँचालोलगत्तै तय रहेको सन् २०१५ मे २१ तारिखको दुबई कन्सर्टलाई ब्याण्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रुपमा लिएको थियो। त्यसैले उक्त कन्सर्टबाट उठेको रकम पनि ब्याण्डले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरिदिएको थियो।
‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’
मुलुकभित्र अवसरको अभावले गर्दा देसभरिका तन्नेरीहरु लामो समयदेखि खाडीको तातो मरुभूमीमा परिश्रम गरेर कमाउन बाध्य छन् । खाडी राष्ट्रहरु मध्ये साउदीअरब र कतारपछिको उल्लेख्य नेपाली कामदार संख्या संयुक्त अरब इमिरेट्समै छ ।
घर परिवारबाट टाढा रहेका उनीहरु त्यहाँ पुग्दा पनि नेपालीपनको स्वादमै रमाएर बाँचेका हुन्छन् । रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महत्वपूर्ण योगदान दिने ती तन्नेरीहरुका सामु ब्याण्डलाई पुरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिले देखिको योजना बल्ल पुरा हुन लागेकामा गुरुङ सन्तुष्टि ब्यक्त गर्छन् ।






