कांग्रेस सभापति देउवा पोखरा आउने

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फेरि पोखरा आउने भएका छन् । पार्टीका कार्यक्रममा सहभागी हुन उनी ६ दिने जिल्ला भ्रमण अन्तर्गत पोखरा आउने भएका हुन् ।

नेपाली कांग्रेसका अनुसार उनी कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन यहि फागुन २४ गते शुक्रबार पोखरा आउने भएका हुन् । उक्त दिन कास्की कांग्रेस तथा भातृ संस्थाले गर्ने कार्यक्रम भने तय भैसकेको छैन ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीको बैठक छिट्टै बसेर कार्यक्रम तय गरिने बताए ।

उनी उक्त दिन पोखरामै रहेर फागुन २५ गते शनिबार बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटन सभालाई सम्बोधन गर्नेछन् ।

सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नेछन् । सोही दिन उनी बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

फागुन २७ गते उनी बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र कांग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा प्रस्थान गर्नेछन् । त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौं फर्कने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ ।

भ्रमण तालिकाअनुसार उनी बिहीबार बिहान विराटनगर प्रस्थान गर्नेछन् । उनी मोरङबाट कांग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

सोही दिन मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई उनी काठमाडौँ फर्कनेछन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।