होटल क्षेत्रको लगानीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषय अहिलेको मुख्य मुद्दा भएको व्यवसायीले बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको १९ औं अधिवेशन तथा ३८ औं साधरणसभाका बक्ताले होटल क्षेत्रमा बार्षिक अर्बौं रुपैयाँको लगानी थपिंदै गएको तर यसको संरक्षणतर्फ सरकार उदासिन देखिएको आरोप लगाए ।
पछिल्लो क्रममा होटलको संख्या बढ्दा होटलको अकुपेन्सी दर भने घट्न पुगेको उनीहरूले बताए । यही क्रममा बैंकहरूले कर्जाको ब्याजदर मनोमानी ढंगले बढाएको भन्दै सरकारले यसविरुद्ध तत्काल हस्तक्षप गर्नुपर्ने उनीहरूको भनाई थियो ।
पोखरामा नयाँ विमानस्थल बन्दै गरेको तर पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गको स्तारोन्नती पनि जरुरी भएको सो अवसरमा जोड दिइएको थियो । कार्यक्रमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । होटलहरूले स्तरीय सेवा दिनेतर्फ पनि सचेत हुनुपर्ने सुझाव उनको थियो ।
गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले सहासिक र खेल पर्यटनको विकासमा पनि थुप्रै काम गर्न बाँकि नै रहेको बताए । पाहुना नै भगवान हुन् अर्थात् अतिथि देवो भवःलाई मुख्य ब्राण्ड नै बनाएर नेपाल अन्तर्राष्ट्रिय रुपमा प्रबर्दित हुन सक्ने उनले बताए ।
सो अवसरमा बोल्दै प्रदेश सभासद राजिव पहारीले पोखरालाई ग्रिन क्लिन सिटी बनाउनुपर्ने बताए । हिमागृहलाई तत्काल खोल्नुपर्ने भन्दै उनले फेवा तालको माटो निकाल्ने काम रोकिन नहुने उनले बताए । संघका पूर्व अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले होटल बचाउने दायित्व सरकारको पनि भएको बताए । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र रहेको पनि उनले सुनाए ।
नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य एवं होटल संघ नेपालका सदस्य विप्लव पौडेलले व्यवसायीको संरक्षण र नेपालको प्रबद्र्धन आफ्नो मूल नारा भएको भन्दै बंगलादेशमा नेपाल प्रबद्र्धन गर्ने गरी छिटै योजना आफूले लिएर आउने प्रतिबद्धता जनाए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सडक नबनेसम्म हिमाल हाँसे पनि पर्यटन नआउने बताए । पर्यटन बसपार्कक सम्बन्धि सम्झौता छिटै हुने भन्दै उनले यही बर्ष भित्र पोखराका १० चोकमा ट्राफिक लाइट राखिने जानकारी दिए । होटल संघ नेपालका कोषाध्यक्ष साजन शाक्यले पोखरा दक्षिण एशियाको पर्यटकीय ढोका बन्न सक्ने भनाई राखे ।
संघका अध्यक्ष विकल तुलाचनको सभापत्विमा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराई, संघका महासचिव गणेशराज पहारी र उपाध्यक्ष लक्ष्मण सुबेदीले पनि भनाई राखेका थिए ।
कार्यक्रममा बोर्डका सदस्य पौडेल र टेनिसमार्फत् पर्यटन प्रबद्र्धनमा सहयोग गरेको भन्दै कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो । संघले फेवा संरक्षणमा गरेका कामबारे फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डका तर्फबाट प्रस्तुति पनि दिइएको थियो ।






