प्रधानमन्त्री केपी शर्मा ओलीले केही शक्ति र प्रतिक्रियाबादी भर्खरै एकता भएको पार्टी फुटाउन लागि परे पनि नेकपामा कुनै असन्तुष्टि नरहेको बताएका छन् । वर्तमान सरकार सहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले काम गरेन भन्नुको अर्थ नरहेको बताए ।
उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरे । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित सुखानी पार्कमा मंगलबार आयोजित ४६ औँ सुखानी सहिद स्मृति दिवस तथा श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री ओलीले अब जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने र विस्फोट गराउने कम्युनिष्ट पार्टी नेपालमा नरहेकाले आफूहरु कम्यूनिष्ट भए यस्तो काम बन्द गर्न निर्देशन दिए ।
मंगलबारको ४६ औँ सुखानी सहिद स्मृति दिवसलाई केहि दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका नेता भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभासहित मनाइएको हो ।






