अभिनाश बोहरा, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा नेपाली पुरुष क्रिकेटलाई सामान्य फ्लो गर्ने जो कसैले पनि यी ४ युवा अनुहारलाई सहजै चिन्छन्।
ललितनारायण राजवंशी गत वर्ष राष्ट्रिय टोलीमा परेदेखि नै चर्चामा छन्। यी स्पिनरले डिभिजन दुई हुदैँ नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाउँदादेखि पछिल्लो यूएईविरुद्धको शृंखलासम्म निरन्तर उत्कृष्ट प्रदर्शन दिदैँ आएका छन्।
घरेलु क्रिकेटमा जमेका अभिनाश अघिल्लो महिना भएको यूएईविरुद्धको एक दिवसीय र टि–२० शृंखलाका म्यान अफ द सिरिज बन्दै चर्चामा आए।
सोही शृंखलामा रोहितकुमार पौडेल र सन्दीप जोराले विश्व कीर्तिमान नै राखे। एकदिवसीय अन्तर्राष्ट्रियमा कम उमेरमा अर्धशतक बनाउँने खेलाडी रोहित बनेका थिए भने टि–२० अन्तर्राष्ट्रियमा कम उमेरमा अर्धशतक बनाउँने खेलाडीको कीर्तिमान सन्दीपले आफ्नो नाममा लेखाए।
यी युवा खेलाडीहरुको यस्तै प्रदर्शनले उनीहरुलाई क्रिकेट खेलाडी संघ (सिप्यान) ले मंगलबार आयोजना लागेको वर्षको उदयीमान खेलाडीको अवार्डका लागि मनोनयनमा पारेको हो। उनीहरुलाई अवार्डमा चुनौती दिने मनोनयनमा परेकी एक्ली महिला खेलाडी हुन, महिला राष्ट्रिय टोलीकी मध्यम गतिकी बलर, कविता कुँवर।
कविता कुँवर
सुदूरपश्चिमको धनगढीबाट उदाएकी कविता(१६ वर्ष)ले पछिल्लो दुई महिनाको अन्तरालमा नेपालबाट दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन्।
जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पहिलो पटक नेपाली टोलीमा परेकी कविता भर्खरै फ्रेब्रुअरी अन्त्यमा थाइल्याण्डमै सम्पन्न महिला टि–२० र एक दिवसीय विश्वकप एसिया छनोट खेल्दै नेपाली टोलीसँग स्वदेश फर्किइन्।
दुबै प्रतियोगितामा नेपाल उपविजेता बन्यो। दुबैमा कविताले देखाएको प्रदर्शन, टोलीमा पारेको प्रभाव र ‘म्याच विनिङ एटिच्युड’का कारण उनी उदीयमान खेलाडीको मनोनयनमा परेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास बताउँछन्।
‘टि–२० स्म्यास उनको नेपाली टोलीबाट पहिलो प्रतियोगिता थियो,’ दासले नेपालखबरसँग भने, ‘विकेटका हिसाबले उनले २ विकेट मात्रै लिइन् तर उनको इकोनोमी नेपाली सम्पूर्ण खेलाडीभन्दा राम्रो थियो। हरेक खेलमा उनले जुन विनिङ एटिच्युड देखाइन् त्यसका कारण उनी वर्षको उदीयमान खेलाडीको मनोनयनमा परेकी हुन्।’
थाइल्याण्ड टि–२० स्म्यासमा उनले पाँच खेलमा २ विकेट लिएकी थिइन्। १४ ओभर बलिङ गर्दै जम्मा ३७ रन मात्रै खर्चेकी उनको इकोनोमी २.६४ को थियो। अर्थात उनी नेपाली बलरहरुमध्ये सबैभन्दा कम खर्चिली भइन्।
त्यही एउटै प्रतियोगितामा गरेको प्रदर्शनको आधारमै उनी उदयीमान खेलाडीको छनौटमा परेकी हुन्। अवार्डका लागि उनका प्रतिस्पर्धीहरु भने बढी एक्सोजर पाएका र धेरै म्याच खेलेका छन्।
कविताले जित्ने सम्भावना कति त ?
मनोनयनका लागि खेलाडी छनोट समितिका सदस्य समेत रहेका विनोद दास भन्छन्, ‘कविताको प्रदर्शनबाट प्रभावित भएर नै मैले उनको नाम अघि सारेको हो। अवार्ड नै जित्न भने प्रतिस्पर्धा कडा हुनेछ। मनोनयनमा परेका अरु खेलाडीहरुले धेरै खेल खेलेका छन् तर एक खेल खेले पनि कविता अवार्डका लागि दाबेदार खेलाडी भने हुन्।’
बाल्यकालदेखि नै कवितालाई क्रिकेट मनपर्थ्यो। अभिभावकलाई पनि उनी क्रिकेट खेल्छु भनेर कर गरिरहन्थिन्। अभिभावकले ‘खेल्ने ठाउँ खोज अनि सिक्न जा’ भने।
एक दिन उनकी आन्टी बजार निस्केका बेला धनगढी बजारको मध्यभागस्थित अञ्चल प्रहरी कार्यालय (हाल संघीय प्रहरी इकाई)को मैदानमा केही युवती क्रिकेट अभ्यास गरिरहेको देखिन्। उनले त्यो कुरा कवितालाई सुनाइन्। त्यो सुनेपछि कविता आन्टीलाई लिएर त्यही मैदान पुगिन्। त्यहीँबाट उनको क्रिकेट करिअर सुरु भयो।
उक्त मैदानमा जानकी भट्ट(पूर्व राष्ट्रिय क्रिकेट खेलाडी)ले धनगढीमा केही युवती जम्मा गरेर अभ्यास गराउँथिन्। कविताले पनि आफूलाई क्रिकेट खेल्न रुचि भएको बताएपछि पहिलो गुरुमा बन्दै जानकीले कवितालाई बल ब्याट समाउन सिकाइन्।
कविताले अभ्यासलाई निरन्तरता दिन थालेपछि तीन वर्ष अघि पहिलो राष्ट्रिय प्रतियोगिता काठमाडौंमा खेलिन्। त्यहाँ प्रदर्शन ठिकठिकै भयो। तर, त्यसपछि जनकपुरमा भएको यू–१६ राष्ट्रिय प्रतियोगितामा भने उनी उत्कृष्ट बलर भइन्। त्यहीँबाट उनी छनाेटकर्ताको नजरमा परेकी हुन्।
‘जनकपुरमा ११ विकेट लिदैँ म वेस्ट बलर चुनिएकी थिएँ,’ हाल आठौं खेलकुदका लागि क्षेत्रीय छनौट प्रतियोगिता खेल्न महेन्द्रनगरमा रहेकी कविताले नेपालखबरसँग कुरा गर्दै भनिन्, ‘त्यो प्रदर्शनले मलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म पुर्याएको थियो।’
कविता कुँवर
कविताले त्यसपछि भने पछाडि फर्केर हेर्नुपरेको छैन्। पोखरा, इटहरी र धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश सातका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टोलीका लागि अघिल्लो महिना छनोटमा परेकी थिन्।
धनगढीमा कवितालाई प्रशिक्षण दिने प्रशिक्षक किसन महत उनी क्रिकेटमा शतप्रतिशत इफोर्ट लगाएर खेल्ने खेलाडी भएको बताउँछन्।
‘कविता अभ्यासमा अनुशासित छन्,’ महतले धनगढीबाट नेपालखबरसँग भने, ‘क्रिकेट भनेपछि उ जहिले, जहाँ जतिबेला बोलाए पनि पुग्छ। यसै स्प्रिटलाई कायम राखे उसले अझै राम्रो गर्दै नेपाललाई योगदान पुर्याउने निश्चित छ।’ राष्ट्रिय महिला टोलीका कप्ता दास कविताजस्ता उदीयमान खेलाडीहरुले बढीभन्दा बढी म्याच खेल्न पाए पलायन हुनुपर्ने अवस्था नआउने बताउँछन्।
‘कविताले अहिले राम्रो गरिरहेकी छिन्,’ नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दास भन्छन्, ‘यसलाई निरन्तता दिन सके उनले नेपाललाई ठूलो योगदान दिन सक्छिन् तर उनीजस्ता प्रतिभावान खेलाडीलाई टिकाई राख्न निरन्तर खेल हुन आवश्यक छ। उनीबाट म धेरै प्रभावित छु।’






