नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको जन्म वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमरापूरा नगरपालिकामा भएको थियो। बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका नेता अधिकारीको परिवार बसाई सरेर विराटनगर पुगेको थियो। त्यसपछि उनको परिवार मोरङ जिल्लाको विराटनगर–१० मा बसोबास गर्न थाल्यो। नेता अधिकारीको परिवार हाल ललितपुरको सानेपामा बस्दै आएको थियो।
मनमोहन अधिकारीका भाइ भरतमोहन पञ्चायतकालदेखि नै सक्रिय राजनीतिमा क्रियाशील थिए। २०४६ सालको जनआन्दोलनमा उनी बहुदलका पक्षमा अग्रमोर्चामा थिए। २०४६ साल चैत्र २६ गते जनआन्दोलन सफल भयो। त्यसपछि तात्कालीन राजा वीरेन्द्रको निर्देशनमा नयाँ संविधानका लागि सुझाव आयोग बनाइयो। नेपाल अधिराज्यको संविधान–२०४७ को सुझाव आयोगमा अधिकारी तात्कालीन वाममोर्चाका तर्फबाट सहभागी थिए। उनले संवैधानिक राजतन्त्रको दायराभित्रैबाट संविधानलाई अधिकतम् प्रगतिशील बनाउन भूमिका खेलेका थिए। २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरे, त्यसपछि मध्यावधि निर्वाचनको घोषणा भयो। उक्त निर्वाचनमा भरतमोहन अधिकारी विराटनगरबाट निर्वाचित भए। उक्त निर्वाचनमा कुनै पनि दलको बहुमत आएन।
शेरबहादुर देउवा कांग्रेसका संसदीय दलका नेता थिए, उनले राप्रपासँग मिलेर सरकार बनाउने कोशिस गरे। तर, सफल भएनन्। एमालेको ८८ सिट थियो, त्यसपछि तात्कालीन नेकपा (एमाले) को नेतृत्वमा अल्पमतको सरकार गठन भयो। २०५१ सालमा गठित पहिलो वामपन्थी सरकारका प्रधानमन्त्री थिए मनमोहन अधिकारी। उनको प्रधानमन्त्री काललाई नेपालको इतिहासमा प्रगतिशील काल मानिन्छ। तर, त्यसका प्रमूख योजनाकार थिए भरतमोहन अधिकारी। उनी मनमोहन सरकारमा अर्थमन्त्री थिए। उनले सरकारका निकै लोकप्रिय आर्थिक कार्यक्रम अघि सारे, आजसम्म पनि नेकपाले त्यही इतिहासको गर्व गरिरहन्छ।
चुनावका बेला कांग्रेसहरुको नारा हुन्थ्यो, ‘कम्युनिष्टहरु सत्तामा आए भने ६० वर्ष कटेका काम गर्न नसक्ने बुढाबुढीलाई गोली हानेर मार्छन्।’ त्यसले बृद्धबृद्धामा एकदमै ठूलो मनोवैज्ञानिक असर पारेको थियो। अधिकारीले ‘आफ्नो गाउँ आफै बनाउँ, बृद्धा भत्ता लगायतका लोकप्रिय कार्यक्रम सारेका थिए। जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याउने नेता अधिकारी नै थिए। भरतमोहन नै त्यस्ता अर्थमन्त्री थिए, जसले नेपाली अर्थतन्त्रमा प्रगतिशील धाराको व्यवहारिक प्रयोग गरेका थिए। अधिकारी २०५६ साल र २०६१ सालमा पनि अर्थमन्त्री भएका थिए। २०६७ सालमा उनी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका थिए। अधिकारी २०५३ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत बनेका थिए ।
२०६४ को संविधान सभा निर्वाचनपछि अधिकारी संविधान मस्यौदा समितिमा बसेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए, २०७० को संविधान सभा निर्वाचन–२ मा अधिकारी समानुपातिक सभासदको भूमिकामा रहेर काम गरेका थिए। राजनीतिक सहमति र सहकार्यको राजनीतिमा भरतमोहनले अभिभावकको भूमिका खेल्दै आएका थिए। हाल अधिकारी नेकपाको केन्द्रीय नेताको भूमिकामा क्रियाशील थिए। अधिकारीले अर्थशास्त्र र कानूनमा बिएलसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। उनी नेपालका बौद्धिक र शालिन नेता मानिन्छन्।
राजनीतिक बिमति र विवादका बेला अधिकारीले सधैं अभिभावकको भूमिका खेल्दै आएका थिए। भरतमोहन नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेतासमेत हुन्। मन्त्री हुनुपूर्व अधिकारीले राष्ट्रिय योजना आयोगको सदस्य र नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिकामा रहेरसमेत काम गरेका थिए। अधिकारी २००८ सालमा तात्कालीन नेकपामा संगठित भएका थिए। अधिकारी पञ्चायती शासन कालमा ३ वर्ष निर्वासित जीवन बिताएका थिए भने ३ वर्ष जेल जीवन बिताएका थिए। पञ्चायतको अवधिमा अधिकारी भूमिगत जीवन बिताउँदै जनतामा जागरण ल्याउने आन्दोलनको नेतृत्व गरेका थिए। राजनीतिक, आर्थिक र कुटनीतिक विषयमा समेत कलम चलाउने अधिकारीका नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवन यात्रा, भाग–१, मेरो जीवन यात्रा, भाग–२ लगायतका कृति प्रकाशित छन् ।
अधिकारीको परिवारमा धर्मपत्नी ओमकुमारी अधिकारी र तीन छोराछोरी छन्। अधिकारीको २०७५ साल फागुन १८ गते राति ९.५० मा निधन भएको छ। हार्दिक श्रद्धासुमन जनताका प्रिय नेता अधिकारी।






