रहेनन् बुढाबुढीलाई भत्ता दिने भरतमोहन

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ८४ वर्षकाे उमेरमा निधन भएको छ । केही दिनअघि उनको स्वास्थ्यमा समस्या देखिए पछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । २ माघमा उनलाई न्युमोनिया बल्झिएपछि मेडिसिटी अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि २५ माघमा उनलाई ह्याम्स अस्पतालमा ल्याइएको थियो । 

शनिबार अपराह्न पत्रकार सम्मेलन गर्दै ह्याम्स अस्पतालका चिकित्सकले उनकाे स्वास्थ्य अत्यन्त नाजुक भएकाे बताएका थिए । अस्पतालका अनुसार अधिकारीकाे राती ९ बजेर ५० मिनेट जाँदा निधन भएकाे हाे ।

अधिकारी नेपालका पहिलो कम्युनिस्ट अर्थमन्त्री थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्व सरकारमा भरतमोहन अधिकारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले ल्याएका आफ्नो गाउँ आफैं बनाऔँ र वृद्धभत्ता कार्यक्रम निकै चर्चित रहे । त्यसपछि उनी चारपटक अर्थमन्त्री भए ।

अधिकारी पछिल्लाे पटक २०६७ सालमा झलनाथ खनाल नेतृत्वकाे सरकारमा अर्थमन्त्री बनेका थिए । 

नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता भए पनि पछिल्लो समय अधिकारीले स्वतन्त्र विचार राख्दै आएका थिए । पार्टीकाे ७० वर्षे उमेर हदका कारण पार्टीमा सक्रिय पद छाेडेका अधिकारीकाे जन्म सन् १९३६ मा महाेत्तरीमा भएकाे थियाे ।