पर्यटनमन्त्रीको निधनमा राष्ट्रिय शोक घोषणा, भोलि सार्वजनिक विदा

रकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि (बिहीबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइने जनाइएको छ ।

अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र अर्का एक जना सवार थिए ।

यस्तै मन्त्रिपरिषद बैठकले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन दिन पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग गठन गरेको छ।

आयोगमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन्।